जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकाका लागि कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरिएको छ ।
प्रमुख र उपप्रमुख भ्रष्टाचारमा मुछिएर निलम्बनमा परेपछि कार्यपालिका बैठकले वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र यादवलाई कार्यवाहक प्रमुख र वडा नं. ३ का अध्यक्ष रत्तन चौधरीलाई उपप्रमुख चयन गरेको हो ।बुधवार बसेको कार्यपालिका सदस्यहरूको बैठकबाट बहुमतीय प्रणालीले चयन गरेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिए ।जलेश्वर नगरपालिकाका मेयर र उपमेयरसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
गत वैशाख २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वरका मेयर सुरेशप्रसाद साह र उपमेयर रौशन खातुनसहित १२ जनामाथि विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । त्यसपछि उनीहरु निलम्बनमा परेका थिए ।हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरुले पाँच लाख ८४ हजार ६३७ रुपैयाँ बढी रकम हिनामिना गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।