काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे ।
‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि नै हो । तर तरिका मिल्यो भने पूरै अवधि बसिन्छ’, प्रचण्डले भने, ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ ।’
उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।सरकारमा रहँदासम्म भ्रष्टाचार न्यूनीकरण ,सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरूबिच भएको समझदारीलाई इमानदारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि स्पष्ट पारे ।प्रधानमन्त्री प्रचण्डले सरकार कायम रहने भएकाले सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए ।