बेलायतको सबैभन्दा धनी हिन्दुजा परिवारका चार सदस्यलाई ४ वर्षको जेल सजाय सुनाइयो

काठमाडौं । स्वीस अदालतले बेलायतको सबैभन्दा धनी परिवारमध्येको एक हिन्दुजा परिवारका चार सदस्यलाई भारतबाट ल्याइएका कामदारको शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ ।हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट नोकर बोलाएर शोषण गरेको आरोप छ।

प्रकाश हिन्दुजा, कमल हिन्दुजा, उनका छोरा अजय हिन्दुजा र बुहारी नम्रिता हिन्दुजालाई चार वर्षदेखि साढे चार वर्षसम्मको जेल सजाय तोकिएको छ ।बृद्ध हिन्दुजा दाजुहरु प्रकाश हिन्दुजा र कमल हिन्दुजा उमेर र खराब स्वास्थ्यका कारण अदालतमा उपस्थित भएनन् भने अजय हिन्दुजा र नम्रता हिन्दुजालाई पक्राउ गर्न आदेश दिइएको छ ।

स्वीस मिडिया रिपोर्टका अनुसार सजाय पाएका अभियुक्त फरार हुन सक्छन्।हिन्दुजा परिवारमाथि नोकरहरुको राहदानी जफत गरी न्यूनतम पारिश्रमिकभन्दा कम रकम दिएको आरोप छ ।गत हप्ता, हिन्दुजा परिवारले पीडित तीन नोकरहरूसँग अदालत बाहिर सम्झौता गरेको थियो। यो ठूलो रकम हुन सक्ने भए पनि यो सम्झौताका लागि कति रकम दिइएको थियो भन्ने अझै स्पष्ट छैन ।

सेयर गर्नुहोस्