पहिरोले पुरिएर एकै परिवारका पाँचको मृत्यु

पहिरोले पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।गए राति आएको पहिरोले गुल्मीको मालिका गाउँपालिका-६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पुरिएको हो। घरसँगै ५६ वर्षीय भेषबहादुर विक, उनकी पत्नी ४७ वर्षीया सुन्तली विक, बुहारी ३० वर्षीया सीता विक, दुई नातिनी सात वर्षीया सपना विक र दुई वर्षीया विपना विक पहिरोमा पुरिएका हुन्।

पहिरो पन्छाउँदा पाँचै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए। पहिरो घर पुरिएको बिहान ७ बजे मात्रै थाहा पाएको स्थानीय बासिन्दाले बताए।स्थानीय बासिन्दा बिहानैदेखि पहिरो पन्छाउन जुटेका थिए। स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पहिरो पन्छाएको मालिका-६ का वडाध्यक्ष दीपक भण्डारीले बताए।

त्यस्तै, बागलुङमा गलकोट नगरपालिका-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी पत्नी ५० वर्षीया वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए।गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका-८ का वडा सदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ।

सेयर गर्नुहोस्