काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।पछिल्लो समय अन्य दलसँग संवाद बढाइरहेका अध्यक्ष ओली विहानै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्ताको विषय सार्वजनिक भएको छैन ।नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाबीच प्रचण्ड र ओलीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।दुई दिन अघि ओलीले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग बालकोटमा छलफल गरेका थिए ।
देउवा र ओलीबीच झण्डै तीन घण्टा बालकोटमा छलफल भएको समाचार बाहिरिएसँग नेपालको तरल राजनीति फेरि तरंगित भएको छ ।सत्ता समीकरण फेरिनसक्ने आशंकाबीच प्रचण्डसँगको आजको भेटलाई एमाले नेताहरुले भने सत्ता गठबन्धनसँगको संवादलाई स्वभाविक भनेका छन् ।
हिजो मात्रै पनि प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो । हिजोको भेटमा भने मन्त्रीमण्डल हेरफेरको विषयमा छलफल भएको नेताहरुको भनाइ छ ।यता कांग्रेस सभापति देउवाले पनि आजै पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।