नवलपुर । जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए, “नारायणगढ–बुटवल सडकखण्डमा अवरोध भए एक घण्टाभित्र सञ्चालनमा ल्याउनू।” ठेकेदार र निर्माण कम्पनीले हुन्छ भन्दै प्रतिबद्धता जनाए ।
नारायणगढ–बुटवल सडकखण्डको चोरमारा क्षेत्रमा १२ घण्टासम्म सडक जाम भयो । रातो माटो भएको ओरालो बाटोमा हल्का पानी परेपछि गाडी चल्नै सकेनन् । “१२ घण्टा जाम हुँदा पनि चिनियाँ ठेकेदार कम्पनीले बाटो खुलाउन कुनै प्रयास गरेन, फोन गर्दा धेरैको मोबाइल ‘अफ’ छ । ‘अन’ भएकाहरूको पनि फोन नै उठ्दैन,’’ ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यले भने । यो कुरा जिल्ला प्रहरी कार्यालय, प्रजिअ कार्यालय हुँदै गृह सचिवसम्म रिपोर्टिङ भयो । माथिको आदेशपछि ठेकेदार कम्पनीका चार जनालाई अफिसबाटै उठाएर जिल्ला प्रहरी कार्यालयमा चार घण्टा राखेपछि ठेकेदारले चिप्लो बाटोमा गिट्टी बालुवा ओछ्याउने प्रतिबद्धतासहित फिल्डमा खटिए ।
त्यसको अनुगमन गर्न पत्रकारसहित सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यसहितको टोली चोरमारा पुग्यो । अनुगमनमा जाँदा पनि दुईरचार ट्रक गिट्टी बालुवा ओछ्याएर टालटुले काम हुँदै थियो । गाडीको जाम अझै उस्तै थियो । प्रहरीले क्रेनले ट्रक धकेल्दै बाटो खुलाउने प्रयास गर्दै थियो । तर, ठेकेदारले हुन्छ हुन्छ भनेर पनि काम नगर्ने गरेको ट्राफिक प्रमुख आचार्यको भनाइ छ ।
“राति १ बजेदेखि जाम भएको हो, एसपी र सिडिओ सा’बबाट दबाब दिएपछि हल्का काम गरे जस्तो गर्छन् तर हरेक पटक गर्छु भनेर पनि काम हुँदैन, व्यवहारमा देखिन्न,” ट्राफिक प्रमुख आचार्यले भने । जिल्ला प्रशासन कार्यालयले नारायणगढ–बुटवल सडक आयोजनाको पूर्वी खण्डका प्रमुखलाई जानकारी गराएर समन्वय गर्न आग्रह गर्दा पनि काम नभएको बताएको छ । गत वर्ष दोस्रो पटक थपिएको म्याद सकिन अब केही हप्ता मात्र बाँकी छ । साउन ८ गते आयोजनाको म्याद सकिने हो ।
यो अवधिमा सबै काम सक्नुपर्ने थियो तर अहिलेसम्मको भौतिक प्रगति ५२ प्रतिशत मात्र रहेको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिए । अघिल्लो वर्ष म्याद थप्दा झन्डै ४२ प्रतिशत भौतिक प्रगति भएको थियो र त्यसलाई बढाएर ७५ प्रतिशत पु¥याउने र कम्तीमा एकतर्फी बाटो कालोपत्रे गर्ने भनिएको थियो तर थपेको म्याद सकिन केही हप्ता मात्र बाँकी छँदा पनि भने अनुसारको प्रगति नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।