पाल्पा — कालीगण्डकी नदी तटमा रहेको रानीमहल क्षेत्र अविरल वर्षासंगै डुबानमा परेको छ । कालीगण्डकी नदी र बराङदी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय सुरेश पाण्डेयले बताए ।
पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन रिसोर्ट तथा पसल टहराहरु पूर्ण रुपमा डुवानमा परेका छन् । रानीमहलमा डिभिजन वन कार्यालय र तानसेन नगरपालिकाले बनाएको पार्कसम्म नै पानीको सतह पुगेको स्याङजा सटुकाका दीपक पाण्डेय क्षेत्रीले बताए ।
रानीमहल क्षेत्रमा हरेक वर्ष डुवान हुनेगर्छ । तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले तटबन्धको काम नगर्दा हरेक वर्ष जोखिम बढ्दै गएको हो । वर्षायाम पछि यहाँ पुनः बगर क्षेत्रमै रिर्सोट, होटल र पसल संचालन हुँदै आएको छ । आम्दानी लिने तर यसलाई संरक्षणमा ध्यान नदिएकाले जोखिम बढेको स्थानीयले बताए ।
अव्यवस्थित रुपमा होटल, रिर्सोट र पसल संचालन गर्न दिइएको छ । कालीगण्डकी तटमा निर्माण भएको रानीमहलमा सिजनमा दैनिक एक हजारदेखि ३ हजारसम्म पर्यटक पुग्ने गर्छन् । अन्य समयमा समेत यही महल हेर्नका लागि पर्यटक जाने गर्छन् । रानीमहल तानसेन नगरपालिका–१३, बौघागुम्हामा पर्छ ।
तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहल क्षेत्रमा नदी गहिरिएको छ । कटान गर्दै गएकाले खतरा बढेको सशस्त्र प्रहरीको गोताखोर टोलीको रिपोर्टमा उल्लेख छ । यहाँ नदीले रानीमहलतर्फ बढी क्षति पुर्याउँदै आएको छ ।