विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै (५६) ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जानकारी दिए ।
आज बिहान १० बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिघण्टा ३ लाख ७० हजार १५० क्यूसेक रहेको छ । यो बहाव यस वर्षकै उच्च रहेको बताइएको छ ।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सूचक रातो झन्डा गाडिएको छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको बताए ।