वर्ल्ड च्याम्पियन्स अफ लिजेन्ड्सः विष्फोटक ब्याटिङ गर्दै पाकिस्तानले भारतलाई हरायो

काठमाडौं । टी-२० प्रतियोगितामा ‘पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई फराकिलो जित हासिल गरेको छ । तर, यो राष्ट्रिय टीम बीचको भिडन्त भने होइन ।

ईंग्ल्यान्डमा जारी वर्ल्ड च्याम्पियन्स अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्सले इन्डिया च्याम्पियन्सलाई हराएको हो । हिजो भएको खेलमा पाकिस्तानले ६८ रनको जित निकाल्न सफल भयो ।

विभिन्न राष्ट्रिय टीमबाट बाहिर रहेका लिजेन्ड खेलाडीहरूको टीमलाई लिएर यो टी २० प्रतियोगिता आयोजना भइरहेको छ । पाकिस्तान च्याम्पियन्सको नेतृत्व युनिस खानले र भारत च्याम्पियन्सको नेतृत्व हरभजन सिंहले गरेका छन् । भारत र पाकिस्तान दुवैले यसअघि दुई खेलमा लगातार जित हासिल गरेका थिए ।

हिजो भएको खेलमा टस हारेको पाकिस्तानले पहिले ब्याटिङ गर्दै २४३ रनको पहाड खडा गर्‍यो । पाकिस्तानी ओपनर सर्जिल खान र कमरान अकमलले विष्फोटक साझेदारी गर्दे १०.५ ओभरमा १४५ रन जोडेका थिए । कमरानले ४० बलमा ७७ रन र सर्जिलले ३० बलमा ७२ रन बनाए । तेस्रो नम्बरमा आएका शोयब बमकसुदले २६ बलमा ५१ रन बनाएर आक्रमणलाई निरन्तरता दिए । यस्तै, सोयब मल्लिकले १८ बलमा २५ रन बनाए । मिसबाह उल हक र युनिस खान ब्याटिङमा आएनन् ।

भारतले सातजना बलर उतारेको थियो । इरफान पठानले एक ओभरमै २५ रन दिए । आरपी सिंह, अनुरित सिंह, धवल कुलकर्णी र पवन नेगीले एक एक विकेट बाँडे । हरभजनले विकेट लिन सकेनन् ।

भारतको ओपनिङ रोबिन उथप्पा र अम्बाटी रायडुले गरेका थिए । २८ रनमै उथप्पा आउट भएपछि अम्बाटी र सुरेश रैनाबीच बलियो साझेदारी भएको थियो । उनीहरुले ७.६ ओभरमा ८९ रनमा पुर्याएपछि रायडु आउट भए । त्यसपछि भारतले लगातार विकेट गुमाइर्यो । भारतका लागि रैनाले ४० बलमा सर्वाधिक ५२ रन बनाए ।

पाकिस्तानका वाहव रियाजले ३ र शोयब मल्लिकले तीन विकेट लिए । सहिद अफ्रिदीले कसिलो बलिङ गर्दै दुई ओभरमा ९ रन खर्चिए पनि विकेट लिन सकेनन् ।

सेयर गर्नुहोस्