पोखरा । लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाका अनुसार पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतकहरुमा वर्ष ४७ का कुलबहादुर परियार, उनकी ४३ वर्षीय श्रीमती मनकुमारी, आमा ८५ वर्षकी लक्षिमा, छोरीहरू १५ वर्षकी प्रसना, २० वर्षकी प्रभा र वर्ष २५ का ज्वाइँ अस्मित परियार रहेका छन् । पहिरोमा परेकी छोरी प्रभा र ज्वाँइ अस्मित चितवनबाट ससुराली पोखरा आएका थिए ।
सो घटना देखेपछि ४६ वर्षीया राधिका परियारको हर्ट अट्याक भई मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । सो घटनामा मृत्यु भएका सबै जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ भने घाइते भएका पवन र कुमार परियारको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।