डुबेर बालिकाको मृत्यु

सर्लाही :  सर्लाहीको लालबन्दी नगरपालिका –१७, रानिगन्जमा खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो २ः३० बजेतिर भएको घटनामा ईश्वरपुर नगरपालिका –५, सखुबनी निवासी सन्तोष पाण्डेकी छोरी १० वर्षीया निसा पाण्डेको मृत्यु भएको हो । रानिगन्जका एक स्थानीयले आफ्नो निजी जग्गामा खनेको खाल्डोमा जमेको पानीमा डुबेर अचेत भएकी निसालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि मोडेल अस्पताल लालबन्दी लगिएको थियो ।

अस्पताल ल्याएर उपचार सुरु गरेको केही बेरमै बालिकालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । इन्सपेक्टर पाठकका अनुसार मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

स्थानीयका अनुसार सो खाल्डोमा पौडी खेल्नका लागि सखुबनीतर्फबाट ५–६ जना बालबालिका रानिगन्जतर्फ आएका थिए । अरु बालबालिका पौडी खेलेर बाहिर निस्कन सफल भए पनि निसा बाहिर निस्कन सकिनन् ।

सेयर गर्नुहोस्