‘नयाँ शव भेटिएको खबर सुन्दा पनि खुसी हुनुपर्ने अवस्था आयो’

जिल्ला प्रहरी कार्यालयको मुल गेटबाट सिधा अगाडि सानो चौतारो छ। दिउँसो साढे ११ बजेतिर त्यहाँ तीन जना महिला र एक जना पुरूष प्रहरीसँग कुरा गरिरहेका थिए।

जब हामी त्यहाँ पुग्यौं पुरूषलाई छाडेर महिलाहरू हतारमा निस्किए।

जिल्ला प्रहरी कार्यालयलाई गैंडाकोटमा एउटा शव भेटिएको खबर आइपुगेको रहेछ। प्रहरीले त्यो सूचना दिएपछि महिलाहरू शव हेर्नका लागि भरतपुर अस्पतालको शवगृहमा जान हतार गरेका रहेछन्।

गत शुक्रबार काठमाडौंबाट गौरका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा रौतहटको यमुनामाई गाउँपालिका–५ का तुलसी दास र सर्लाहीको रामनगर गाउँपालिका–३ का राम दास पनि चढेका थिए। तुलसी हामीले चौतारोमा भेटेका सुखल दासका छोरा र राम उनका सम्धीका छोरा हुन्। उनकाअनुसार २२ वर्षका तुलसी र १९ वर्षका राम रोजगारीका लागि साउदी अरेविया जाने प्रकृया पुरा गर्न केही दिनअघि काठमाडौं गएका थिए। म्यानपावर कम्पनीलाई ४ लाख रूपैयाँ बुझाएपछि उनीहरू दुबैको पासपोर्टमा भिषा लाग्यो।

‘जाने मिति आउनै लाग्दा रामलाई सन्चो भएनछ। उनीहरूले म्यानपावर कम्पनीलाई यो कुरा बताएछन्। म्यानपावरले ८ दिनको समय दिएपछि दुबै जना सँगै उड्ने भनेर घर फर्किएका थिए। तर बाटैमा पहिरोले उनीहरूलाई लग्यो,’ सुखल दासले भने, ‘हामी त छोराहरू आउलान्, केही दिन भने पनि खुसी बाडौंला भनेर पर्खिरहेका थियौं। मोबाइलले उनीहरू चढेको गाडी त्रिशूलीमा खसेको खबर पो सुनायो।’

धमाधाम धान रोपिरहेको सुखलको परिवार र आफन्त ६ जना शनिबार काम छाडेर भरतपुर आइपुगेका थिए। तर त्रिशूलीमा खसेका छोराहरू खोज्ने सामर्थ्य उनीसँग थिएन।

‘एक दिन त सुरक्षाकर्मीले खोजिरहेको ठाउँमा गएर हेर्‍यौं। त्यसपछि कहिले प्रहरी कार्यालय, कहिले शवगृहमा कुरिरहेका छौं,’ हराएका भाइ र देवर खोज्न रौतहटबाट आइपुगेकी तुलादेवी दासले भनिन्, ‘अब श्वासको त आश छैन, शव भनेपनि पाइन्छ कि भनेर पर्खिरहेका छौं।’

दास परिवारमा अब छोरा भेटिने आशा मर्न थालिसकेको छ।

‘भोलिसम्म कुर्छौं। भेटिएन भने फर्किन्छौं,’ सुखल दासले भने, ‘अन्तिम संस्कार बेलैमा गरेन भने राम्रो हुँदैन। कठपुतलीको सकल बनाएर भने पनि अन्तिम संस्कार गर्छौं।’

गणपति डिलक्समा तुलसी र रामसँगै सर्लाहीका जितेन्द्र राम र रौतहटका नविन राम पनि साउदी अरेवियाको भिषा लागेर घर फर्किदै थिए। उनीहरू चारजनै हराएपछि गाउँ शोकमा डुबेको प्रहरी कार्यालयमा भेटिएका दयाशंकर प्रसाद रामले बताए।

रौतहटको माधवनारायण नगरपालिका घर भएका साला लक्ष्मिनारायण रायलाई खोज्न गौरका चन्द्रकिशोर राय यादव शवगृह र प्रहरी कार्यालय ओहोरदोहर गर्न थालेको ५ दिन भयो। लक्ष्मी नारायणले केही दिनदेखि गणपति डिलक्समा सहचालकको काम गर्न थालेका रहेछन्।

‘छोराले काम गरेको बस नदीमा खसेको खबर सुनेपछि बुबा, आमा बेहोस भए। अस्पताल लगेर दुई दिन राख्नुपर्‍यो। अहिले पनि पीर मानेर बसिरहेका छन्। म आफू सरकारी जागिर खान्छु, कति दिन यहाँ बसिरहन सकिन्छ र,’ उनले भने, ‘भोलि पनि भेटिएन भने त फर्कन्छु होला।’

पर्साका सहीद मिया काका र काकी खोज्न भरतपुर आइपुगेका छन्। काका ६४ वर्षका सलिम मिया काकी ६३ वर्षीया जनाविया खातुन मुटुको अपरेशन गर्न वीरगञ्जबाट काठमाडौं जाँदै थिए। तर अस्पताल नै नपुगी उनीहरू हराए। उनीहरू चढेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार विहानै त्रिशूली नदीमा खसेको थियो।

‘शवगृहमा हेरिरहेको छु काका, काकीको शव आउँछन् कि भनेर,’ उनले भने, ‘नयाँ शव आयो कि हेरिहाल्छु उनीहरू नै हुन् कि भनेर, तर मिल्दो अनुहार देखिएको छैन।’

नाती खुर्सेद आलाम पनि हजुरबुबा र हजुरआमालाई खोज्न आएका छन्। उनले दिनमा कम्तीमा ३ पटक भरतपुर अस्पतालको शवगृह पुग्ने गरेको बताए।

‘यस्तो पीडा नेपालीले कति दिन सहने, यस्तो घटना कहिलेसम्म भइरहने हो,’ उनले सरकारसँग प्रश्न गरे, ‘जसरी हुन्छ हामीलाई लास चाहिन्छ। पीडित परिवारलाई सक्दो धेरै राहत उपलब्ध गराउनुपर्छ।’

जाबेद अन्सारी भारतको बिहार राज्यको पश्चिम चम्पारणबाट दाइ आबित हुसेन लाई खोज्न भरतपुर आइपुगेका छन्। आबित काठमाडौंमा गार्मेन्टमा काम गर्थे।

‘परिवारको कमाउने भनेकै उही हो। उसको कमाइमा श्रीमती र ६ जना छोराछोरी बाँचिरहेका छन्,’ वीरगञ्जको एक गार्मेन्टमा काम गर्ने जाबेदले भन्छन्, ‘तैपनी जीवितै भेटिन्छ कि भनेर म आएको थिएँ। अब जीवित भेटिने आशा मर्‍यो। नयाँ शव भेटिएको खबर सुन्दा पनि खुसी हुनुपर्ने अवस्था आयो।’

दर्जनौं व्यक्तिहरू जिल्ला प्रहरी कार्यालय अगाडि मोबाइलमा हराएका आफन्तको फोटो ठिक्क पारेर बस्ने गरेका छन्। जब शव भेटिएको खबर आउँछ उनीहरू प्रहरीलाई मोबाइल खोलेर आफ्नो मान्छेको फोटो देखाइहाल्छन्।

‘यत्रो दिन भइसक्यो शवसमेत भेटिएको छैन। कति दिन पर्खिरहने हो थाहा छैन,’ खुर्सेद आलाम भन्छन्, ‘नेपालीले नसक्ने भए विदेशबाट दक्ष मान्छे ल्याएर खोजे पनि हुन्थ्यो। कम्तीमा शव त पाइयो भनेर सन्तोष मान्न हुन्थ्यो।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले हराएका आफन्त खोजिदिन आग्रह गर्दै दैनिक ३०–४० व्यक्तिहरू प्रहरी कार्यालय आइपुग्ने गरेको बताए। उनीहरूसँग समन्वय र सहजीकरण गर्न भनेर वरिष्ठ सई राजेश यादवको संयोजनमा सहयोग डेक्स सञ्चालन गरिरहेको रिजालले बताए।

‘हराएका आफन्त खोज्न आएकाहरूलाई बस्न र खानका लागिसमेत सहजीकरण गर्न भनेर छुट्टै डेक्स स्थापना गरिएको छ। नयाँ शव भेटिएपछि उहाँहरूलाई खबर गरेर देखाउने, सनाखत गर्ने काम भइरहेको छ,’ उनले भने।

मंगलबार रातिसम्म नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका बसमा सवार ९ जना यात्रूहरूको शव फेला परेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिलेसम्म ३ जना भारतीयसहित ९ जनाको सनाखत भएको जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले मंगलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा गणपति डिलक्समा चढेका ५ जना र एन्जल्स डिलक्समा चढेका ४ जना यात्रूको सनाखत भएको उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयकाअनुसार दुर्घटना भएको दिन गत शुक्रबारदेखि मंगलबारसम्ममा चितवन र नवलपरासीका विभिन्न स्थानमा (नारायणी नदीको किनारमा) १७ वटा शव भेटिएका छन्। ती सबै शवहरू नारायणघाटस्थित नारायणी नदीको पुलदेखि दक्षिणतर्फ भेटिएका हुन्। अहिलेसम्म घटनास्थलदेखि करिब ३० किलोमिटर दक्षिणतर्फमात्रै शव भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालले नवलपरासीको विनय त्रिवेणी–७ स्थित व्यारेज पुलमामात्रै ६ वटा शव भेटिएको जानकारी दिए। तीमध्ये तीन जनाको सनाखत भएको छ। नवलपुरको गैंडाकोट–७ गैरीमा ३ वटा, गैंडाकोट–१० मा २ वटा, मध्यविन्दु–२ भुताहामा २ वटा, सुस्ता–४, भरतपुर–२८ गोलाघाट, सालबास, भरतपुर–२६ सिसुवारमा एक/एक वटा शव भेटिएको उनले बताए।

घटनास्थलदेखि तलको भूभाग नवलपरासी(बर्दघाट–सुस्ता पूर्व) र (बर्दघाट–सुस्ता पश्चिम) मा पर्ने भएकाले दुबै जिल्लासँग समन्वय गरेर खोज तथा उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी यादव बताउँछन्।

‘नारायणी नदीमा पानीको बहाव उच्च रहेको र गण्डक व्यारेजबाटसमेत पानीको बहावले शवहरू बगाउन सक्ने हुनाले भारतस्थित बिहार राज्यको पश्चिम चम्पारण जिल्लाका अधिकारीसँग खोज र उद्धारका लागि समन्वय गरिएको छ,’ उनले भने।

खोज र उद्धारमा वाटर ड्रोन(सोनार), र्‍याफ्टिङ बोट, मोटर बोट, गोताखोर परिचालन गरिएको र नदी किनारमा सुरक्षाकर्मीले पैदल खोजी गरिरहेका छन्। यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरेर करिब ५ सय जना उद्धारकर्मीहरू संलग्न रहेको यादवले बताए।

गत शुक्रबार विहान साढे तीन बजेतिर काठमाडौंबाट गौर जाँदैगरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रूवाहक बसहरू सिमलतालबाट त्रिशूली नदीमा खसेका थिए। यी दुई गाडीमा कम्तीमा ६५ जना यात्रूहरू चढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। काठमाडौंबाट गौर जाँदै गरेको गाडीमा चढेका तीन जना भने बाँच्न सफल भएका थिए। नदीमा खसेका बसहरू अहिलेसम्म भेटिएका छैनन्।

सेयर गर्नुहोस्