राज्यमन्त्री हत्या प्रकरणः राति ३ जना घरमा आएको खुसाला

सर्लाही,सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्वराज्यमन्त्री रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको छ ।

चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए ।प्रहरी स्रोतकाअनुसार राय राति श्राद्धमा गएर राति साढे ८ बजेतिर आफ्नो घरमा आएका थिए । त्यसको करिब १ घण्टापछि तीन जनाको मान्छेको समूह उनको घरमा आएको खुलेको हो ।राय र उनको घरमा अर्का एकजना काम गर्ने व्यक्ति राम उदेन राय गरी दुई जना बस्दै आएका थिए । राति साढे ९ बजेतिर आएका तीन जनाले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेका थिए ।

हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भनेकाले राति आएका तीन जनाबीच जग्गा विवादको समस्या रहेको जस्तो बुझिएको अनुसन्धान अधिकृत बताउँछन् ।जवाफमा ८० वर्षीय पूर्वराज्यमन्त्री रायले मिलाउँला नि भनेर जवाफ दिएको उनकै घरमा काम गर्न बसेका राम उदेनले बताएको प्रहरी स्रोतले बतायो । त्यसपछि आफूले तीन जनालाई पानी समेत खुवाएको राम उदनेले प्रहरी समक्ष बताएका छन् ।पूर्वराज्यमन्त्री रायकै घरमा सुत्ने बताएपछि राम उदेनलाई अर्कै कोठामा सुत्न पठाइएको उनले बताएका छन् ।जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जना र पूर्वराज्यमन्त्री गरी चारजना गफ गरिरहेको र आफू सुतेको हाल प्रहरी नियन्त्रणमा रहेका राम उदेनले बताएका छन् ।

राति पिसाब फेर्न उठ्ने बेलामा भने पूर्वराज्यमन्त्री सुतेको कोठाको ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा ढलेको देखेको राम उदेनले बयानमा भनेका छन् । मृत अवस्थामा पूर्वराज्यमन्त्री रायलाई देखेपछि आफूले तत्कालै आफन्तलाई खबर गरेको उनको भनाइ छ ।अहिले राम उदेनमाथि सोधपुछ भइरहेको मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले बताए । उनका अनुसार राति घरमा ३ जनाको समूहमा आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने आशंका गरिएको छ । रायलाई घरेलु हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

रायको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको छ । राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

सेयर गर्नुहोस्