काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी गरी देशभर समान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा रहेका छन् ।