यस्तो छ १० करोडमा बनेको नेपाली-हिन्दी मिश्रित गीत ‘झ्याइँ’

काठमाडौं । न्युयोर्कको टाइम्स स्क्वायर ठूला एलईडी स्क्रिन र चम्किलो ‘नाइट लाइफ’ले विश्वव्यापी चर्चित छ । संसारका ठूला ब्राण्ड यो थलोमा राखिएका भव्य स्क्रिनमा विज्ञापन देखाउने होडमा हुन्छन् ।सेकेण्डको हिसाबले विज्ञापन गर्न पनि मिलियन डलर खर्च लाग्छ । यो ‘कस्मोपोलिटन’ थलोमा गत शनिबार नेपाली र हिन्दी मिश्रित गीतको म्युजिक भिडियो ‘झ्याइँ’को प्रिमियर गरियो ।टाइम्स स्क्वायरका दुई ठूला स्क्रिन नास्दग र मिडटाउनमा नेपाली राष्ट्रिय झण्डाको स्क्रिनिङसहित चार मिनेट लामो गीत देखाइयो । यसका लागि निर्माताले महंगै मूल्य तिरे । दुबईको बुर्ज खलिफामा देखाउने पूर्वयोजना स्थगित गर्दै निर्माताले टाइम्स स्क्वायरमा गीत प्रिमियर गरेका हुन् ।

अमेरिकी निर्माता कम्पनी एटमुनले नेपाली र बलिउड कलाकारको सहकार्यमा बनाएको उक्त म्युजिक भिडियोको लागत १० करोड रुपैयाँ बताइएको छ । यो गीतसँग बलिउडका ठूला नाम जोडिएका छन् । उनीहरुकै संलग्नतामा मुम्बईको एम्पिरियल प्यालेसमा यो गीतको छायांकन गरिएको थियो ।गीतमा अमेरिकामै जन्मे-हुर्केकी मन्जयाश्री भट्ट र देव नेगीले स्वर दिएका छन् । गीतमा मन्ज्याश्री आफैं फिचर्ड छिन् । यो गीतमा चर्चित नेपाली लोकगीत ’झ्याइँ पार्‍यो मलाई रत्यौलीको झिल्केले झ्याइ पार्‍यो’ बोलको गीतको अंश समावेश छ । हिन्दी र नेपाली गीत मिश्रण गरिएकाले गीत नृत्यप्रधान महसुस हुन्छ । स्पोटीफाइ, एप्पल, हंगामा, गाना प्लाटफर्म लगायतमा यो गीत उपलब्ध छ ।

‘देवदास’, ‘रंग दे बसन्ती’ जस्ता बलिउडका चर्चित फिल्म खिचेका नेपालीमूलका भारतीय छायाकार विनोद प्रधानले यो गीतको भिडियो खिचेका छन् । गीतमा मन्जयाश्रीसँगै अर्का नेपाली राहुल शर्मा पनि छन् ।शर्मा मुम्बई बसेर साउन्ड इन्जिनियरिङ गर्दैछन् । गीतको साउण्ड इन्जिनियरिङ, मिक्सिङ र मास्टरिङ उनले नै गरेका हुन् । शर्माले सञ्जयलीला भन्साली, धर्मा प्रोडक्सनका फिल्ममा काम गरेका छन् । ‘हीरामण्डी’, ’मिर्जापुर’, ’गणपथ’, ’फोनबुथ’ लगायत फिल्ममा पनि उनले हालै काम गरे ।

शाहरुख खान स्टारर ‘पठान’ र ‘वार’मा नृत्य निर्देशन गरेका बोस्को सिजर कोरियोग्राफर हुन् । यो भिडियोको आइडिया अनुशा भट्टको हो । उनी यो गीतकी कार्यकारी निर्मात्री समेत हुन् । उनले एटमुन कम्पनीको आगामी योजनाअन्तर्गत अर्को महत्वाकांक्षी प्रोजेक्टको रुपमा नेपालको सम्पदा झल्काउने म्युजिक भिडियो र अर्को वर्ष एक कथानक फिल्म निर्माणको योजना सुनाइन् । बनाउने भनिएको उक्त कथानक फिल्ममा मञ्जयाश्रीकै अभिनय हुने जनाइएको छ ।‘हामीले पहिलोपटक टाइम्स स्क्वायरमा तीन मिनेटको भिडियो देखायौं । यसअघि यस्तो कहिल्यै भएको थिएन,’ अनलाइनखबरसँगको कुराकानीमा अनुशाले भनिन्, ‘नेपाली हुनुको नाताले हामीले पनि ग्लोबल लेभलको प्रोडक्ट बनाउन सक्छौं । हलिउड र बलिउडको तहमा बनाउन सक्छौं भन्ने लागेर टाइम्स स्क्वायरमा रिलिज गरेका हौं ।’

भिडियोमा देखाइएको मन्जयाश्रीले पहिरिएको ड्रेस, रानी बस्ने सुनजडिगत गद्दी निकै महंगो रहेको र यसको डिजाइनमा महिनौं लागेको पनि उनले बताइन् ।आफूहरुले सुरुदेखि नै भव्य शैलीको म्युजिक भिडियो बनाउन लागिपरेको र फलस्वरुप हिन्दी र नेपाली गीतलाई ब्लेन्डिडङ गरेर भिडियो बनाएको उनले बताइन् । ‘बलिउडको जुन काम गर्ने शैली छ त्यो भिन्न छ । नेपाल  र बलिउडलाई मिलाएर गीत बनाउँदा खेरि यसमा भिन्न खालको हुन्छ । हामीलाई चाहिने कुरा बलिउडसँग थियो,’ उनले भनिन् ।

यो गीतमा चर्चित नेपाली गीत ‘झ्याइ पार्‍यो मलाई रत्यौलीको झिल्केले झ्याइ पार्‍यो’को अंश समावेशबारे अनुशाले रमाइलो र नेपालीपन झल्किने गीत खोज्दै जाँदा यो गीत भेटिएको बताइन् ।आफूहरुलाई गायिका र मोडल समेत चाहिएको बेला मन्जयाश्रीलाई भेटेको स्मरण उनले गरिन् । ‘उहाँलाई हामीले एक कलेज कार्यक्रममा भेटेका थियौं । उहाँले गीत गाइरहनुभएको थियो,’ अनुशा भन्छिन्, ‘हाम्रो टिमले उहाँलाई त्यहीं चिनेको हो । गाउने शैली एकदमै अमेजिङ छ । अर्को वर्ष उहाँ हामीसँग फिल्म पनि खेल्दै हुनुहुन्छ ।’उनले पछिल्लो समय अमेरिकामा नेपाली समुदाय फैलिएको भन्दै नेपाली समुदायसामु चुनौती पनि रहेको बताइन् । उनी नेपाली आफ्नो समुदायभित्र मात्र सीमित हुन नहुने बताउँछिन् । ‘हामी कम्युनिटीबाट माथि जानुपर्छ,’ अनुशाले भनिन्, ‘कसरी विश्वसँग प्रतिस्पर्धा गर्ने भनेर सोच्नुपर्छ ?’

सेयर गर्नुहोस्