काठमाडौं , भदौ २
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विशिष्ट व्यक्तिहरुको फेक भिडिओ बनाउँदै आएका युवक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो ।
उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोललाई जोडेर बनाइएको एआइ भिडियो भाइरल भएको थियो । त्यसविरुद्ध सुनीताले साइबर ब्यूरोमा उजुरी समेत गरेकी थिइन् ।
पक्राउ परेका युवक सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्छन् । उनले अरु पनि फेक भिडियो बनाउने गरेको पाइएको छ । तीन पार्टीका प्रमुख नेताहरु डान्स गरेको भिडियो पनि उनले बनाएका थिए ।
ती युवाले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणालाई जोडेर पनि भिडियो बनाएका छन् ।