मोटरसाइकलको ठक्करबाट उछिट्टिएर जिपमा ठोक्किएकी स्कुटर चालकको मृत्यु

बुटवल:  बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए।

दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका–११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका–१२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर बलेरो जिपमा ठोक्किएको थियो।

तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट सुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जिपको मुनी पुगेकी थिइन्। उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना स्थल वरपरका सिसीटिभी फुटेज हेरेर मोटरसाईकल चालकको खोजी भइरहेको बानियाले बताए।

 

सेयर गर्नुहोस्