एलन मस्कलाई मन्त्री बनाउने ट्रम्पको घोषणा

वासिङ्टन डिसी, भदौ ४-नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।सोमबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तरवार्तामा उनले यस्तो घोषणा गरेका हुन् । ट्रम्पका अनुसार आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ वा आफ्नो प्रशासनका लागि सल्लाहकारको भूमिका दिइनेछ ।

तर नयाँ विद्युतीय कारलाई दिँदै आएको ७ हजार ५०० डलरको कर कर्जा भने खारेज गरिने बताइएको छ । यसले टेस्लाको व्यवसायलाई प्रभावित बनाउने विश्लेषण गरिएको छ । ‘कर कर्जा वा कर प्रोत्साहन खासै राम्रो कुरा होइनन्,’ पेन्सिल्भेनियामा चुनावी कार्यक्रमपछि ट्रम्पले रोयटर्सलाई भनेका थिए ।जुलाईमा ट्रम्पलाई मार्न भएको प्रयासमा भाग्यले उनी बाँचेका थिए । सो घटना लगत्तै मस्कले नै ट्रम्पलाई समर्थन गरेका थिए । नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पले वर्तमान उपप्रधानमन्त्री कमला ह्यारिसको सामना गर्दैछन् ।

सेयर गर्नुहोस्