चितवन, भरतपुर महानगरपालिकाले रु एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको हो । राप्ती र नारायणी नदी, मध्यवर्ती र सामुदायिक वन किनार हुँदै महानगरको अधिकांश भागलाई समेट्ने गरी ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको हो ।
महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका, सङ्घीय सरकारको डिभिजन सडक कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र प्रदेश सरकारको प्रदेश पूर्वाधार कार्यालयले विभिन्न खण्ड छुट्याएर चक्रपथ निर्माण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै ९० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी कामका लागि पनि बोलपत्र आह्वान गरिसकिएको छ ।