‘गोल्डेन इमिनेन्ट चितवन गोल्डकप फुटबल’को तयारी अन्तिम चरणमा

चितवन:  चितवनमा दुई वर्षपछि पुनः ठूला फुटबल प्रतियोगिता हुने भएको छ । २०५८ सालमा स्थापित भरतपुर फुटबल क्लवले दोस्रो संस्करणको रुपमा ‘गोल्डेन इमिनेन्ट चितवन गोल्डकप फुटबल’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

भरतपुर फुटबल क्लबले आज पत्रकार सम्मेलन गरी आउँदो असोज ३ गते १२ गतेसम्म गोल्डकप आयोजना गर्न लागिएको जानकारी दिएको हो । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयको खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र आकर्षक ट्रफी जित्नेछ भने उपविजेता टिमले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा विभागीय टिमकासहित ‘ए’ डिभिजन लिग खेल्ने टिम र मोफोसलका टिमहरुको सहभागिता रहने कार्यक्रम संयोजक ध्रुब भुषालले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेताले पाउने ट्रफी समेत अनावरण गरिएको थियो । पहिलो संस्करण २०७९ भदौ २५ देखि असोज ३ गतेसम्म चलेको थियो । पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

दोस्रो चितवन गोल्डकप सम्पन्न गर्न ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता हेर्नका लागि दर्शकका लागि तीन चरणको टिकट व्यवस्था गरिएको छ । पहिलो चरणका खेल हेर्न ५० रुपैयाँ, क्वाटरफाइनल र सेमीफाइनलका खेल हेर्न एक सय रुपैयाँ र फाइनल खेल हेर्नका लागि २ सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले यस प्रतियोगिताले चितवनका खेलाडीहरुलाई पनि राम्रो स्थानमा पुग्नका लागि महत्वपूर्ण हुने बताए । उनले चितवनमा पछिल्लो समय फुटबल गतिविधि बढ्नुको साथै खेलाडीहरुको समेत स्तरवृद्धि भइरहेको भन्दै गत संस्करणको ए डिभिजन लिग फुटबलमा चितवनका मात्रै २० जना भन्दा बढी खेलाडी खेल्न सफल भएको भन्दै यस किसिमका ठूला प्रतियोगिता चितवनमा हुन आवश्यक रहेको बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले चितवनको फुटबल लगायत खेलकुद प्रतियोगितामा सदैव सहयोग गर्दै आइरहेको भन्दै आगामि दिनमा पनि फुटबलको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । सो क्रममा बोल्दै प्रतियोगिताको टिकेटिङ पार्टनर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले चितवनले गौरव गर्न लायक फुटबल प्रतियोगितामा सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । एक्सपर्ट विभिन्न समयमा हरेक खालका खेलकुद गतिविधिमा सहकार्य गर्दै आइरहेको भन्दै आगामि दिनमा पनि अझै राम्रो सहकार्य गर्न पाउनेमा विश्वास व्यक्त गरे ।

 

सेयर गर्नुहोस्