काठमाडौं, असोज १-
जिष्ट्रार कार्यालय परिसरमा विद्यार्थीहरुले धर्ना दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले कार्यालयमा धर्ना दिएका हुन् ।
त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका छन् । यो धर्नालाई आफूहरुले पनि साथ दिएको अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति अध्यक्ष प्रदीप भण्डारीले बताए ।
धर्नामा बसेका प्रविण दाहालले आजसम्म इयर ग्याप र इयर ओभरल्यापिङ (एकै वर्षमा दुई वर्षको परीक्षा) का कारण ट्रान्स्कृप्ट नपाएका सम्पूर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलब्ध गराउनुपर्ने आफूहरुको मुख्य माग भएको बताए ।
‘०७५ सालको पहिलो वर्षको परीक्षा दिएका विद्यार्थी ०७६ सालमा दोस्रो वर्षमा भर्ना भए, तर परीक्षा फर्म भरेनन्,’ दाहालले भने, ‘०७७ सालमा भने दोस्रो वर्षको आंशिकको रुपमा र तेस्रो वर्षको नियमितको रुपमा परीक्षामा सहभागी गराइयो । ०७८ सालमा चौथो वर्ष परीक्षा पास भइसके । तर त्रिविका पदाधिकारीले ओभरल्यापिङ भएकालाई ट्रान्सकृप्ट दिने नियम छैन भन्छन् ।’ उनले त्रिभुवन विश्वविद्यालयले सुधार गर्न सक्ने कामहरु समेत नगरेर विद्यार्थीहरुको भविष्य धरापमा पारेको आरोप लगाए ।