बागलुङ — सहकारी ठगी मुद्दाका आरोपी तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र अदालतमा बयानका लागि बोलाइएको हो ।
अहिले नेपालीको बयान भइरहेको स्रेस्तेदार शिवहरि सुवेदीले बताए । बयान सकिएपछि उनलाई इजलासमा पेस गरिने छ । गत शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई आइतबार राति मात्र बागलुङ ल्याइपुर्याइएको हो । नेपालीलाई आइतबार जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो ।
२०८० वैशाख ७ गते तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि नेपाली बेपत्ता थिए । उनीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । नेपाली ढोरपाटन नगरपालिकाको प्रमुखसमेत हुन् । उनले एमालेको तर्फबाट दुई पटकसम्म निर्वाचन जितेर प्रमुख बनेका थिए ।
यो मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।