चितवन
नारायणगढ–मुग्लिन सडकअन्तर्गत कालीखोलामा बनेको पुल केही दिनमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।कालीखोलाको ७२ मिटर लामो पुल सञ्चालनका लागि पहुँच मार्ग निर्माणको काम अन्मित चरणमा छ ।
माकिङ लगायतका कामहरु हुँदैछन् । फूलपातीको दिनसम्म पुल सञ्चालन गर्ने गरी काम अगाडि बढेको सडक आयोजनाका सूचना अधिकारी कष्ण आचार्यले जानकारी दिए ।दशैं अगाडि नाम्सी खोलाको पुल पनि सञ्चालनमा ल्याउने तयारी गरिए पनि केही काम बाँकी भएकोले कालीखोलाको मात्रै पुल सञ्चालन गर्न सकिने देखिएको उनले बताए ।
सो सडक खण्डमा रहेका १९ पुलमध्ये कालीखोलाको पुल सञ्चालनमा आएपछि बाँकी तीन पुल मात्रै सञ्चालन गर्न बाँकी हुनेछन् ।
पुलको बीचमा सात दशमलव पाँच मिटर गाडी गुड्ने भाग रहेको छ भने दुवै पट्टी ठाउँअनुसार एक दशमलव पाँच मिटरसम्म फराकिलो पैदल मार्ग बनाइएको छ ।तुइनखोलाको पुल पनि लगभग तयार छ । खहरे खोलाको पुलको पहुँच मार्ग बनाउने काम धमाधम भैरहेको छ ।
तिहार अगाडि नाम्सी खोला र तुइन खोलाको पुल सञ्चालनमा ल्याउन सकिने इन्जिनियर आचार्यले बताए । उनले असोजमा आएको बर्षा र पहिरोले काममा केही समस्या ल्याउँदा ढिलाइ भएको बताए ।विसं २०७६ चैत १० गते यो सडकखण्डमा १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएका थिए । अनक कन्सट्रक्सनले निर्माणको ठेक्का पाएका १५ पुलको लागत एक अर्ब २८ करोड रहेको छ ।
तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो ।विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ ।