ललितपुर
दशैंको अवसर पारेर प्रमुक्षी दलका नेता, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सम्पादकहरूलाई होटल हिमालयमा बोलाएका थिए । मूलधार मानिएका मिडियाका सम्पादक र प्रेस सेन्टरका केही पत्रकार नेताहरुसहितको अनौपचारिक जमघटमा प्रचण्ड धैर्य, जिम्मेवार र प्रतिक्षित सुनिए ।
राजावादीदेखि प्रखर गणतन्त्रवादीसम्मका बिचार बोक्ने सम्पादकहरुका आ आफ्ना उद्देश्यमूलक प्रश्नमा, तीन पटक देशको प्रधानमन्त्री भइसकेका पूर्व विद्रोही कमाण्डर प्रचण्ड विपक्षी दलको नेता भन्दा पनि आफूलाई राजनेताका रुपमा उभ्याउने प्रयास गरिरहेका थिए ।
विपत्तिको मिलेर सामना गर्ने
छलफलको शुरुमै आफू सरकारलाई गाली गर्ने पक्षमा नरहेको बताएर विषयवस्तुमा प्रवेश गरेका प्रचण्डले डेढ घण्टा लामो संवादलाई बिट मार्ने क्रममा आफू माओवादीको अध्यक्ष भन्दा माथि पुगिसकेको बताए । यद्यपी उनले यो जमघटमा आफूलाई प्रधानमन्त्रीभन्दा माथि देखाउन खोजे पनि त्यहि अभिव्यक्ति भने दोहोर्याएनन् ।
पछिल्लो समय समकालीन शीर्ष नेताहरुमध्ये प्रचण्ड सार्वजनिक वहस,जनसंवाद र सम्पादकहरुसँगको नियमित भेटघाटमा पनि चुस्त बनिरहेका छन् । प्रधानमन्त्री रहेकै समयमा पनि बेलाबेला यस्ता संवाद गरिरहने प्रचण्डले सत्ता बाहिर पुगेपछि गरेको पहिलो छलफलमा नेपालको राजनीतिक संकटका केही संकेत गरे,तर विस्तृतमा प्रवेश गर्न चाहेनन् ।
बिगतमा हौसिएर वा होस्ल्याङ भएर बोल्दा आफ्ना अभिव्यक्ति विवादमा पर्ने गरेकाले पनि हो कि,प्रचण्ड सम्पादकहरुसँग तौलिएर बोलिरहेका थिए । यद्यपी उनले विश्व राजनीतिदेखि नेपालको आन्तरिक अवस्थासम्मको विश्लेषण गर्ने क्रममा ठूलै संकट नजिक आइरहेको संकेत भने गरे । साथसाथै अहिलेको सरकार समेत षडयन्त्रबाट बनेर संकटनोन्मुख रहेको विश्लेषण सुनाए ।
सरकारलाई अप्ठेरो पार्ने,गाली गर्ने वा सरकार ढाल्ने तीनै खेलमा आफू नरहेको उनले प्रष्ट शब्दमा बताइरहँदा यति ढुक्क देखिएका छन् कि,कुनै पनि बेला माओवादी फेरि सत्तामा पुग्ने पर्खाइमा छन् । त्यसैले बरु प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेको आलोचनामा राम्रै शब्द र समय खर्चिएका प्रचण्ड कांग्रेस र मुलतः सरकारप्रति समेत नरम नै सुनिए ।
विपक्षी दलको नेताको भूमिकामा रहेका प्रचण्डले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने नेपाली परम्परा भएको बताए ।
उनले भने, ‘जतिबेला जनता सङ्कटमा छन् त्यतिबेला सबै सरकार प्रतिपक्ष मिडिया सबै मिलेर त्यसको सामना गर्ने परम्परा छ । अहिले पनि त्यही मनसायका साथ संकटको सामना गर्नुपर्छ । अझै पनि खोजकार्य बाँकी नै छ । खोजी उद्धार राहतको काममा लाग्ने । पुर्ननिर्माण र पुर्नस्थापनाको चुनौती छ ।’
भूराजनीतिबारे फेरिएको बोली
सत्ताबाट हट्ने बित्तिकै आक्रोशित भएका प्रचण्ड अहिले मत्थर भइसकेका छन् । सम्पादकहरुसँगको छलफलमा उनले शुरुमै भूराजनीतिक जटिलताको ब्याख्या गर्दै अहिलेको सरकार विदेशीको कारणले बनेको होइन भने । बरु विदेशीकै कारण संकटमा पर्न सक्ने संकेत उनले बुझिनेगरी नै दिए । सरकार आन्तरिक कारणले नै बनेको उनले प्रष्ट बताए ।
प्रचण्डले आफू सरकारबाहिर पुगेपछि दिएको बंगलादेश बन्न सक्ने चेतावनी समेत सच्याएका छन् । उनले यहाँको विशिष्ठ अवस्थाका कारण नेपाल बंगलादेशजस्तो बन्न नसक्ने सम्पादकहरुसँग बताए । जबकी उनले जसले बंगलादेशमा शेख हसिनालाई सत्ताच्युत गर्यो त्यहि शक्तिलाई आफूलाई प्रधानमन्त्रीबाट हटाएको त्यसबेला बताएका थिए ।
प्रचण्डका फेरिएका अभिव्यक्तिको शंस्लेषण के हो भने,उनी भूराजनीतिक यथार्थ बुझिरहेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री बनेको दक्षिणको भूराजनीतिक शक्तिलाई मन परेको छैन । बरु त्यो शक्तिमार्फत कांग्रेस सभापति शेरवहादुर देउवामाथि दबाब दिने प्रयास भइरहेको छ । यद्यपी बुढानिलकण्ठको ढोका अहिलेसम्म खुलेको छैन ।
अर्कोतर्फ उत्तरको शक्ति पनि चित्त दुःखाएर बसेको छ । उसले एमाले र माओवादीको सत्ता सहकार्य आगामी निर्वाचनसम्म जाओस् भनेर धेरै मेहनत गरेको थियो । एमाले माओवादी गठबन्धन टुट्न नदिन अन्तिम क्षणसम्म गरेको प्रयास असफल भएपछि फाटेको चित्त सायद अझै पुरिएको छैन । त्यसका संकेत दुवैतिर प्रधानमन्त्रीको औपचारिक भ्रमणको चाँजोपाँजो केही सुरसार देखिन्न ।
लोकप्रियतवादी र ओलीविरोधी रिझाउँदै
भूराजनीतिक शक्ति सन्तुलनको विश्लेषण गरिरहेका प्रचण्डले आन्तरिक राजनीतिक सन्तुलनलाई पनि आफ्नो अनुकुल बनाउन कुनै प्रयास छ बाँकी राखेका छैनन् । सरकारको दुई तिहाई वहुमत पुग्न नदिनेदेखि सत्ता गठबन्धनकै नेपाली कांग्रेसप्रति नरम बन्ने नीति त्यसको प्रस्थानविन्दू हो । शेखर कोइरालालगायत कांग्रेस नेताहरुको पछिल्लो असन्तुष्टिले प्रचण्डलाई सन्तुष्ट बनाएको छ ।
सरकारविरुद्धका असन्तुष्टि,आक्रोश र निराशाका सबै आवाजलाई धून दिने रणनीतिमा प्रचण्ड देखिन्छन् । उनले सम्पादकहरुसँग पनि नयाँ र स्वतन्त्रहरुलाई लोकतन्त्रका सुन्दर फूलको संज्ञा दिदै उनीहरुको जगेर्ना गर्ने आफ्नो नीति रहेको सुनाए । प्रधानमन्त्री ओली र एमाले पंक्तिसँग बालेनहरुको ‘साइबर वार’प्रति लक्षित गर्दै उनले लोकतन्त्रमा सयौं फूलहरुलाई फूल्न दिनुपर्ने बताए ।
नयाँ र स्वतन्त्रहरुमात्र होइन प्रचण्ड राजा ज्ञानेन्द्र शाहदेखि उनका समर्थक र हिन्दुवादीहरुप्रति समेत विगतमा जस्तो नकारात्मक सुनिन छाडेका छन् । सबै असन्तुष्टिहरुको संगठित आवाज बन्न खोजिरहेका प्रचण्डले पूर्व राजाको भुटान भ्रमण र उनले पाएको सम्मानलाई समेत आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भने । उनले ज्ञानेन्द्रलाई पूर्व राजा नभनी राजा नै भने,तर राजतन्त्र भने नफर्किने बताए ।
यी सबै अभिव्यक्तिबाट के बुझ्न सकिन्छ भने,प्रचण्ड अहिले समाजमा र राजनीतिमा देखिएका जति पनि पपुलिस्ट व्यक्ति र शक्तिहरु छन् उनीहरुलाई नचिढ्याउने बरु आफूप्रति नरम बनाएर ओलीविरुद्ध घेराबन्दी अझ कसिलो बनाउँदै लैजानेमा देखिन्छन् । त्यसैले पूर्वका पहिचानवादी,मधेशवादी,बालेनवादी,राजावादी,हिन्दुवादीहरुलाई समेत प्रचण्डले लोकतन्त्रका सयौं फूलको स्थान दिएका छन् ।
आफू सरकार ढाल्ने वा ढलिहालोस् भन्ने पक्षमा नरहेको बताइरहँदा प्रचण्डले अन्तिममा भने-म त जनताकै बीचमा खुसी छु तर परिस्थिति अर्कै बनिरहेको छ । तपाईहरुलाई म अरु डिटेल अहिले बताउन चाहन्न, तर राजनीति फेरिँदैछ । पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनु नै संकटको कारक हो,अरु कुरामा मलाई थप बोल्न नलगाउनुस् ।
त्यसैले होला,प्रचण्ड अहिले पर्खिएको अवस्थामा देखिएका छन् ।