उपनिर्वाचन : बाजुरामा सुरक्षा व्यवस्था कडा

अत्तरिया, मङ्सिर १२ गते ।

सुदूरपश्चिम प्रदेशमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममा रिक्त रहेका पाँच स्थानमा पाँच वटा पदका लागि यहि मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतपत्रसहितका निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याइ सकेको जानकारी दिनुभयो ।  ‘‘निर्वाचन अधिकृतले १३ गतेदेखि मतदानस्थलमा कर्मचारी खटाउनुहुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘सोही राति १२ बजेदेखि मौन अवधि पनि सुरु हुन्छ ।’’ निर्वाचन सम्बन्धी  कुनै पनि गतिविधि गर्न पाइँदैन । पाँच वटा वडा अध्यक्षका लागि हुने उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ ।

बाजुराको स्वामीकात्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । त्यहाँ सात हजार चार सय ६० मतदाता छन् भने पाँच मतदान केन्द्र तोकिएको छ ।  त्यहाँ नेपाल प्रहरीले शान्ति सुरक्षाको कडा व्यवस्था गरेको जनाएको छ ।

एसपीको नेतृत्वमा एक सय ३५ जना शुरक्षा कर्मी मतदान स्थलमा खटाई सकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो, ‘‘केन्द्रको सुरक्षा योजना अनुसार निर्वाचन हुने सबै मतदान स्थलमा सुरक्षाकर्मी खटाई सकेका छौं, सुरक्षा व्यवस्था कडा गरिएको छ ।’’ यस प्रदेशको  कञ्चनपुर, डोटी, दार्चुला, बाजुरा जिल्लामा एक उपाध्यक्ष र चार जना वडा अध्यक्षको लागि निर्वाचन हुँदैछ ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि भने १२ जना  विच प्रतिस्पर्धी हुँदैछ । नेपाली कांग्रेसबाट प्रकाश चन्द, नेकपा (एमाले)बाट बहादुर चन्द, नेकपा (माओवादी केन्द्र) बाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, नेकपा (एकीकृत समाजवादी)बाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाट थानेश्वर लेखक चुनावी प्रतिस्पर्धीमा रहनुभएको छ । त्यहाँ कांग्रेसबाट निर्वाचित महेन्द्र खड्काको पुस २०८० मा मृत्यु भएको थियो ।

सेयर गर्नुहोस्