काठमाडौं –
पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपिएलमा लगातार तेस्रो जित निकालेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा पोखराले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ३९ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्यो ।
यसअघि पोखरा चितवनसँग पराजित भएको थियो । जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई हराएको थियो । जनकपुर ६ अंकसहित शीर्ष स्थानमा छ ।
जनकपुरको लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन बनाए ।उनले ३२ बलमा आठ चौका प्रहार गरे । आसिफ शेखले ३४ बलमा ३३ रनको योगदान गरे । आक्रमक बनेका जिमी निसमले २९ बलमा पाँच छक्कासहित अविजित ४० रन बनाए ।
यसअघि पोखराको लागि मार्कस क्रिचलीले ३० बलमा सर्वाधिक ३५ रन बनाए । आन्द्रेस गोसले २०, रेमन रेइफरले १७ बनाउँदा लिस्क माइकलले २५ रन बनाएका हुन् । हर्ष ठाकरले १३ रनमा अविजित रहे ।
बलिङतर्फ जनकपुरको लागि स्पिनर ललित राजवंशीले चार ओभरमा ३ विकेट लिए । जिमी निसमले दुई विकेट लिएका हुन् । किशर महतो र मोहम्मद होमसिनको नाममा एक विकेट रह्यो ।
आज नै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौं गुर्खाज भिड्दैछन् ।