१४ माघ, काठमाडौं ।
नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकममा अनियमितता भएको आशंकामा जंगीअड्डाले छानबिन थालेको छ ।
कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८/७९ र ०७९/८० मा अनियमितता भएको सूचना आएपछि महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको हो ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, प्रारम्भिक जाँचमा केही कैफियत देखिएपछि एक जना सैनिक कर्मचारीलाई नियन्त्रणमा लिएर छानबिन भइरहेको छ । ‘एक जनालाई सैनिक प्रहरी गणमा राखेर छानबिन भइरहेको छ, अवकाश पाइसकेका दुई जनालाई कारबाही गर्न प्रहरीलाई लेखी पठाएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘अझै छानबिन जारी रहेकाले यसका कतिपय विवरण अहिल्यै खुलाउन मिल्दैन ।’
स्रोतका अनुसार, महासेनानी सापकोटाको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वायरीले तत्कालीन आवास तथा बीमा शाखामा कार्यरत् सेनानी समीर गुरुङ, प्यूठ टिकाराम गोतामे र जमदार रवीन्द्र लुङ्गेलीको मिलेमतोमा आर्थिक अलपचन भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
उनीहरूमध्ये गुरुङ र लुङ्गेलीले स्वेच्छिक अवकाश लिइसकेका छन् । दुवैले अवकाश लिएको एक वर्ष नाघिसकेको छ । सेनाबाट अवकाश पाएको ६ महिनापछि सैनिक ऐन आकर्षित नहुने हुँदा लुङ्गेली र गुरुङमाथि अनुसन्धान गरिदिन भन्दै जंगीअड्डाले प्रहरीलाई पत्राचार गरेको छ ।
पत्रमा जंगीअड्डामा भएको प्रारम्भिक छानबिनका क्रममा बयान दिँदै गोतामे र लुङ्गेलीले सैनिक प्रहरी गणमासेनानी गुरुङ समेतको संलग्नतामा बहालवाला प्यूठ गोतामेले ४०/५० लाख रुपैयाँ, लुङ्गेलीले एक करोड २५ लाख रुपैयाँबराबरको अपचलन गरेको खुलेको भनिएको छ ।
सेनाको कोर्ट अफ इक्वायरी बोर्डको प्रारम्भिक प्रतिवेदनमा भने गोतामेले ६५ लाख, लुङ्गेलीले एक करोड ५० लाख रुपैयाँ र समीर गुरुङले दुई करोड रुपैयाँ अपचलन गरेको खुलेको भनिएको छ । उनीहरूमध्ये गोतामेमाथि सैनिक ऐन आकर्षित हुने भएकाले आन्तरिक छानबिन भइरहेको भनिएको छ ।
‘सेनानी योजनकार’
प्रहरीका अनुसार, २० पुस २०६१ मा सेनामा भर्ना भएका लुङ्गेली २०७७ सालमा सैनिक कल्याणकारी निर्देशनालयमा सरुवा भएर गएका थिए । त्यसक्रममा उनले उपदान, भगैर र मृतक सैनिकका परिवारले पाउने आवास तथा बीमाबापतको रकम भुक्तानी गर्ने शाखामा काम गरेका थिए ।
यो शाखाले सैनिक अभिलेखालयबाट अवकाश पाउने सैनिकको अभिलेखसहित प्राप्त हुने विवरण कम्प्युटर महाशाखामा हुँदै आएपछि रकम हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने गर्छ ।
‘रकम यकिन भएर आएपछि सम्बन्धित व्यक्तिलाई त्यो रकम बुझेको भरपाइ फारम भराएर पाउने कुल रकमबराबरको चेक काटेर उक्त शाखाका सेनानी समीर गुरुङ र महासेनानी झलेन्द्र भट्टराईलाई हस्ताक्षरका लागि पठाउँथे’, उनले बयानमा भनेका छन्, ‘उहाँहरूलाई दस्तखत गराएपछि त्यो चेक सम्बन्धित व्यक्तिलाई दिने गरेको थिएँ ।’
त्यस्तोमा सैनिक अभिलेखालयबाट प्राप्त नभएको फाइलको समेत नेपाल बैंकमा रहेको खाताको चेक बनाउन लगाएर रकम भुक्तानी लिएको उनले स्वीकारेका छन् । यद्यपि, उनले सेनानी गुरुङको निर्देशन अनुसार यसरी भुक्तानी लिएको बयानमा दाबी गरेका छन् ।
भट्टराईको चाहिँ हालसम्म संलग्नता खुलेको छैन । यद्यपि, प्रहरीले उनलाई बयान कागजका लागि बोलाएको छ ।
‘म उक्त शाखामा नभएको अवस्थामा प्यूठ टिकाराम गोतामेले पनि त्यो बैंक खाताको चेकमा रकम र नाम भरेर हस्तक्षर गर्न लगाई भुक्तानी लिने गरेका थिए’, लुङ्गेलीले बयानमा खुलाएका छन्, ‘मलाई सुरुमा शाखामा काम गर्न जाँदा समीर गुरुङले चिटमा दर्जा, नाम, थर, ब्याच नम्बर र रकम उल्लेख गरेर व्यक्तिको नाममा चेक बनाउन भनेर आदेश दिने गर्नुहुन्थ्यो, मैले त्यहीअनुसार चेक बनाउँथे ।’
त्यसक्रममा गैरसैनिक व्यक्तिको नाममा नेपाल बैंकको खाताको चेकबाट रकम भुक्तानी दिँदा थाहा नहुने रहेछ भन्ने लागेपछि आफूले सातामा २/३ जनाको नाममा ४०/५० लाख रुपैयाँभन्दा बढी रकमबराबरको फर्जी चेक कटेको उनले भनेका छन् ।
त्यसरी आफूखुसी फर्जी नाममा चेक काटेर लिएको रकम सेनानी गुरुङ, प्यूठ गोतामे र आफूले बैंकमा गएर भुक्तानी लिएको उनले बयानमा खुलाएका छन् ।
कोषको पैसाले भक्तपुर र सर्लाहीमा जग्गा
फर्जी विवरणका आधारमा लुङ्गेली एक्लैले एक करोड २५ लाख रुपैयाँ भुक्तानी लिएको खुलेको छ । त्यो रकमबाट उनले सर्लाहीको लालबन्दीमा १८ लाख रुपैयाँमा जग्गा खरिद गरेको भेटिएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, उनले भक्तपुरको च्यामासिंहमा पनि ७५ लाख रुपैयाँमा ३ आना २ पैसा घडेरी खरिद गरेको भेटिएको छ । उनले १७ लाख रुपैयाँ छोरालाई अष्ट्रेलिया पठाउने क्रममा खर्च भएको भनेका छन् भने नौ लाख रुपैयाँमा चितवनको सौराहमा ३ कठ्ठा जग्गा खरिद गरेको भनेका छन् । बाँकी रहेको ६ लाख रुपैयाँ घर व्यवहारमा खर्च भएको भनेका छन् ।
२०७९ भदौमा उनी १८ नं. बाहिनी अड्डाअन्तर्गत भुल्के ब्यारेक, गाईघाट सरुवा भएका थिए । त्यसबेला आफ्नो सेवा अवधि १८ वर्ष पुगिसकेकाले १ कात्तिक २०८० मा स्वेच्छिक अवकाश लिएको भेटिएको छ ।
पछि प्यूठ गोतामेले आफूलाई सम्पर्क गरेर आफूसँग पटकपटक रकम माग्ने गरेको समेत उनले भनेका छन् । ‘रकम नदिए माथिल्लो निकायमा रिपोर्ट गरिदिन्छु भनेर मलाई डर, त्रास देखाउँथे’, उनले भनेका छन्, ‘त्यही चलिरहेका बेला म पक्राउ परेको थिएँ ।’अर्का आरोपी गुरुङ अवकाशपछि अहिले बेलायत पुगिसकेका छन् । उनकी पत्नी हाल सेनामै कार्यरत् रहेकाले जंगीअड्डाले उनीसँग पनि सोधपुछ गरेको थियो ।
संयुक्त राष्ट्र संघअन्तर्गत शान्ति सेनामा गएका व्यक्तिहरूको एक करोड ३२ लाख रुपैयाँ बिउ पूँजीबाट कल्याणकारी कोषको स्थापना भएको थियो । त्यसयता, जंगीअड्डाले शान्ति सेनामा भाग लिएवापत प्राप्त हुने रकमको निश्चित प्रतिशत रकम काटेर कोषमा जम्मा गर्दै आएको छ ।
अहिले रकम बढेर मुलुककै ठूलो कल्याणकारी कोषको रूपमा विकास हुँदै गएको छ भने यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १० लाख मानिस लाभान्विक हुने गरेको जंगीअड्डाको भनाइ छ । पछिल्लो विवरणअनुसार कोषमा अहिले ७५ अर्ब ९० करोड रुपैयाँ मौज्दात छ ।