काठमाडौं । ‘द मिस ग्लोब २०२४’की विजेता डायना मोरेनो नेपाल आएकी छन् । मंगलबार मध्यान्ह काठमाडौं विमानस्थलमा अवतरण गरेकी उनले पहिलो नेपाल भ्रमणमा आउन पाउँदा खुसी लागेको बताइन् ।
‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को निम्तोमा उनी काठमाडौं आएकी हुन् । आउने शनिबारदेखि हुने पेजेन्टको अडिसनमा उनले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् ।
जसअन्तर्गत वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रन-वे शो पनि गर्दैछ । यो शो जलवायु परिवर्तनसम्बन्धी जनचेतनाका लागि हुनेछ । साथै उनले शनिबार काभ्रेमा हुने एक छलफल सत्रमा समेत भाग लिनेछिन् ।
नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगितामा अन्तर्राष्ट्रिय जजलाई ल्याइएको यो पहिलो अवसर भएको दावी छ । चौंथो संस्करणबाटै अन्तर्राष्ट्रिय विजेतालाई जजको रुपमा राखिने आयोजक सन्तोष उपाध्यायले बताए ।
‘काठमाडौंको अडिसनदेखि काभ्रेमा हुने वर्ल्ड युथ फेस्टिभलमा डायनाले सहभागिता जनाउनुले नेपालको ब्युटी पेजेन्ट लगायत फेसन उद्योगलाई नै थप टेवा पुग्नेमा हामी आशावादी छौं’ उनले भने ।
मोरेनाको नेपाल बसाइ ५ दिनको हुनेछ । यस अवधिमा काठमाडौंका प्राकृतिक तथा सांस्कृतिक सम्पदा घुम्ने उनको योजना छ । सम्पदा क्षेत्रमा फोटोसुट समेत हुनेछ । पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा पनि उनको भेटघाट कार्यक्रम राखिएको छ ।
मार्च २ सम्म चल्ने अडिसन काठमाडौँ उपत्यकासहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगन्ज र धनगढीमा हुनेछ । जसमा १८ देखि ३२ वर्षसम्मका महिला र पुरुषले भाग लिन सक्नेछन् । यसमा उचाई र लिङ्गको मापदण्ड तोकिएको छैन । सन् २०२४ मा अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायनाले ताज पहिरिएकी हुन् ।