चन्द्रागिरिको जंगलमा ६ घण्टादेखि भीषण आगलागी

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भए पनि पूर्ण रुपमा नियन्त्रणमा भने लिन नसकिएको काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनले भने, ‘नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सकेका छैनौं। त्यसकारण हामी स्थानीय गाउँलेहरूसँग समन्वय गरेर पुन: आगलागी नियन्त्रणको प्रयासमा लागिरहेका छौं।’

उनले उक्त वनको विभिन्न ठाउँमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको बताए । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सेयर गर्नुहोस्