आजदेखि नारायणगढको क्याम्पाचौरमा ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ सुरू

नारायणगढको क्याम्पाचौरमा आज शुक्रबारदेखि ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ सुरू हुँदै छ । नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले फुड फेस्टिबल आयोजना गरेको हो । फुड फेस्टिबलको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । एक्स्पो एण्ड फुड फेस्टिबल वैशाख २ गतेसम्म चल्नेछ ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली उत्पादनको प्रदर्शनी हुने छ । बेलुका ६ बजेदेखि राति ९ बजेसम्म फुड फेस्टिबलसँगै कन्सर्ट हुने छ । प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने कन्सर्ट हेर्नका लागि भने टिकटको व्यवस्था गरिएको नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । ‘कन्सर्टका लागि खल्ती एपमार्फत अग्रिम टिकट लिँदा प्रतिटिकट ३०० रूपैयाँ पर्छ । एक्स्पो सुरू भइसकेपछि चाहिँ एपमार्फत वा काउण्टरबाटै टिकट लिए पनि ५०० रूपैयाँ लाग्छ’, उनले भने ।

एक्स्पो एण्ड फुड फेस्टिबलमा १०० भन्दा बढी स्टल रहेको उनले जानकारी दिए । त्यसमध्ये स्टार्ट अप बिजनेसका १० वटा स्टल छन् । १० वटा स्टार्ट अप बिजनेसमध्ये एउटा उत्कृष्ट बिजनेसलाई नगद ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए । त्यस्तै, अल्पसंख्यक समुदायका व्यक्तिले उत्पादन गरेका वस्तु प्रदर्शनी गर्न १० वटा स्टल निःशुल्क उपलब्ध गराइएको उनी बताउँछन् ।

एक्स्पोमा विभिन्न विषयमा प्यानल छलफल पनि हुने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्वअध्यक्ष सूर्यभक्त अधिकारीले बताए । युवा उद्यमशीलताका विषयमा विज्ञहरुलाई ल्याएर प्यानल छलफल गरिने उनले जानकारी दिए । युवा उद्यमी मञ्चले सन् २०१७ देखि चितवन महोत्सव परिसरमा मेड इन नेपाल एक्स्पो गर्दै आएको थियो । मञ्चले चितवनमा पहिलोपटक छुट्टै एक्स्पो गर्न लागेको अधिकारी बताउँछन् । ‘नेपालमै उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्नमा एक्स्पो फलदायी हुने अपेक्षा गरेका छौँ’, उनले भने ।

प्रदर्शनीका लागि गेट पासहरु निःशुल्क वितरण गरिएको छ । गेट पास लिएर प्रदर्शनी अवलोकन गर्ने एक जना भाग्यशाली अवलोकनकर्ताले एउटा मोबाइल प्राप्त गर्न सक्नेछन् । त्यसका लागि गेट पासको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर तोकिएको बाकसमा खसाल्नुपर्ने अधिकारीले बताए । ‘एक्स्पोको अन्तिम दिन लक्की ड्रमार्फत एक जना भाग्यशाली अवलोकनकर्ता छनोट गरी मोबाइल उपहार प्रदान गर्ने छौँ’, उनले भने ।

एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी हुनेछन् ।

बेलुका ६ बजेपछि हुने कन्सर्टमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्वअध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिए । उनका अनुसार कन्सर्टमा आज चैत २९ गते द एज ब्यान्डको प्रस्तुति रहनेछ । भोलि चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, वैशाख १ गते द स्वर र वैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुति रहने उनले बताए ।

फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।

सेयर गर्नुहोस्