सकियो मेड इन नेपाल एक्स्पो, चितवन रिसर्च एण्ड इनोभेसनले पायो ५० हजार

नयाँ वर्ष २०८२ सालको अवसरमा नारायणगढको क्याम्पा चौरमा आयोजित ‘मेड इन नेपाल एक्स्पो एण्ड फुडफेस्टिबल’ मंगलवार सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले एक्स्पो एण्ड फुड फेस्टिबल सफल भएको बताएको छ ।

चैत २९ गतेदेखि बैशाख २ गतेसम्म भएको एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म स्वदेशी वस्तु तथा सेवाको प्रदर्शनी र साँझ ६ बजेपछि कन्सर्ट भएको थियो । ३० हजार भन्दा बढीले एक्स्पो एण्ड फुड फेस्टिबल अवलोकन गरेको आयोजकले बताएको छ ।

मंगलबार एक कार्यक्रमका बीच एक्स्पोको समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले एक्स्पोलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । संस्थाको उद्धेश्य अनुसार एक्स्पो सफल भएको भन्दै उनले आगामी दिनलाई एक्स्पोलाई अझ व्यवस्थित बनाउँदै लगिने बताए । समापन कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष निर्देश सेढाई, पूर्वअध्यक्षहरु निरञ्जन न्यौपाने, सूर्यभक्त अधिकारी लगायत सहभागी थिए ।

एक्स्पोमा सहभागी १० वटा स्टार्टअप अर्थात् नवप्रवर्तन व्यवसायमध्ये सर्वाेत्कृष्ट घोषित भएको चितवन रिसर्च एण्ड इनोभेसन सेन्टरले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका प्रथम उपाध्यक्ष निशान पौडेलले जानकारी दिए । रत्ननगर–१ स्थित चितवन रिसर्च एण्ड इनोभेसन सेन्टरका सञ्चालक कोशिस कोइरालालाई मञ्चका अध्यक्ष श्रेष्ठ र संस्थापक अध्यक्ष सेढाईले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

एक्स्पोमा करिब १०० वटा स्टल रहेकामा १० वटा स्टल स्टार्टअप व्यवसायका थिए । एक्स्पोमा सहभागी १० वटा स्टार्टअप मध्येबाट उत्कृष्ट चारलाई फाइनल चरणको प्रतिस्पर्धामा प्रवेश गराइएको थियो । चार स्टार्टअपका सञ्चालकले निर्णायकहरु समक्ष आइडिया प्रस्तुत गरेपछि एउटालाई विजेता घोषणा गरिएको हो । उत्कृष्ट चारमा बरमाला, चितवन रिसर्च एण्ड इनोभेसन सेन्टर, पुनः थ्रिफ्ट स्टोर र ग्रिनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीले पत्रिकाबाट बनाएको पेन्सिल व्यवसाय परेका थिए ।

पुरस्कार विजेता कोइरालाले पेट्रोल र डिजेलबाट चल्ने पुराना गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गरेका छन् । उनले स्कुटर, मारुती भ्यान र सफारीमा प्रयोग हुने जिपलाई परिवर्तन गरी विद्युतीय बनाएका हुन् । तर, यसरी स्पेसिफिकेशन परिवर्तन गरिएका गाडी दर्ता गर्न नेपालमा कानुन बनाइएको छैन । चार वटा स्टार्टअपबाट पनि उत्कृष्ट एउटा स्टार्टअप छनोट गर्ने निर्णायकहरुमा मञ्चका द्धितिय उपाध्यक्ष एवम् मेरो किनमेलका सञ्चालक सन्तोष कँडेल, सिए सन्तोष रेग्मी र पेट्रोलियम डिलर्स एशोसियसन चितवनकी अध्यक्ष शर्मिला सेढाई रहेका थिए ।

कन्सर्टमा मंगलबार गायिका ज्योती मगरको प्रस्तुती रहेको थियो । त्यस्तै, ‘उदय एण्ड झक्कास’, ‘अध्याय’ र ‘द इरेज’ व्याण्डको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धनसँगै मनोरञ्जनको लागि ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ आयोजना गरिएको हो । फुड फेस्टिबलमा व्यवसायीले थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको पस्किएका थिए ।

त्यस्तै, एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी भएका थिए । उद्योगी व्यवसायीले भोग्नु परेको समस्या र समाधानका उपाय खोज्न एक्स्पोमा बिजनेश कन्क्लेभ अन्तर्गत विभिन्न विषयका विज्ञहरुलाई बोलाएर प्यानल छलफल पनि गरिएको थियो ।

सेयर गर्नुहोस्