भरतपुरको रोयल सेन्चुरी अब ल्याण्डमार्कको व्यवस्थापनमा

चितवनको भरतपुर ओरालोस्थित प्रसिद्ध रोयल सेन्चुरी होटल अबदेखि ल्याण्डमार्क होटल्स एन्ड रिसोर्ट्सको व्यवस्थापनमा सञ्चालनमा आएको छ। सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत ल्याण्डमार्कले यसबारे जानकारी दिएको हो।

होटलसँगै देवघाट गाउँपालिका-५ भुवनटारस्थित करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको फार्म हाउस पनि ल्याण्डमार्कले नै सञ्चालनमा ल्याउनेछ। ल्याण्डमार्कका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेका अनुसार यो कदमले नेपाली पर्यटनमा समूहको उपस्थिति अझ सशक्त बनाउने विश्वास गरिएको छ। अबदेखि रोयल सेन्चुरी “ल्याण्डमार्क नारायणी” र देवघाटको फार्म हाउस “ल्याण्डमार्क फार्म हाउस” को नाममा नयाँ व्यवस्थापनसहित सेवा दिनेछन्।

भरतपुर हाइटमा रहेको ल्याण्डमार्क नारायणीमा ७० कोठा, ६ वटा सम्मेलन हल, रेष्टुरेन्ट, बार, कफी हाउस र खुला टेरेस छन्। भविष्यमा स्विमिङ पुल पनि थपिनेछ। देवघाटको ल्याण्डमार्क फार्म हाउसमा १३ कोठा, आकर्षक कटेज, ट्री हाउस, स्विमिङ पूल, र फार्म टु टेबल डाइनिङ सुविधा रहेको छ। प्राकृतिक सौन्दर्य र शान्त वातावरणमा गुणस्तरीय सेवा दिने उद्देश्य ल्याण्डमार्कले लिएको छ।

संस्थाका निर्देशकहरूका अनुसार चितवन र देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यसहित सेवा विस्तार गरिएको हो। ल्याण्डमार्कले यसअघि काठमाडौँ, पोखरा, सौराहा र भैरहवामा पनि लक्जरी होटल सञ्चालन गर्दै आएको छ।

सेयर गर्नुहोस्