भरतपुर महानगरपालिका वडा नं–२ ले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । वडाध्यक्ष मनोज रानाभाटले वार्ड२भरतपुरडटकमको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा वडाध्यक्ष रानाभाटले वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित पोर्टल सञ्चालनमा ल्याइएको बताए । ‘हामी यसअघि नै भरतपुरमै उत्कृष्ट वडा भइसकेका छौँ, प्रविधिमा पनि स्मार्ट बन्नुपर्छ भनेर पोर्टल सञ्चालनमा ल्याएका हौँ’, रानाभाटले भने । रानाभाटका अनुसार पोर्टलमा वडाका गतिविधि, सूचना, अनलाइन फर्मलगायतका सामग्रीहरु समेटिएको छ ।
वडावासीलाई अनलाइनबाटनै काममा सहज होस् र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि वडा नं–२ को विषयमा जानकारी होस् भन्ने हेतुले पोर्टल सञ्चालनमा ल्याइएको रानाभाटको भनाइ छ । भरतपुर–१० हाकिमचोकस्थित एनडब्लुटेकले पोर्टलको लागि प्राविधिक सहयोग गरेको हो ।
एनडब्लुटेका प्रबन्ध निर्देशक इन्जिनियर त्रिविक्रम रेग्मीले कम्पनीले देशभरीनै अनलाई पोर्टल, न्युज पोर्टल तथा वेभपेज डिजाइनिङको काम गर्दै आएको र हाल चितवनका वडाहरुमा अनलाइन पोर्टलको निर्माण तथा व्यवस्थापन गर्दै आएको बताए । यो पोर्टलमा आएका प्राविधिक विषयलाई कम्पनीले प्राविधिक सहयोग गर्ने प्रबन्ध निर्देशक रेग्मीले बताए ।