मुम्बई। भारतकी वरिष्ठ तथा प्रख्यात गायिका सुमन कल्याणपुरको आइतबार साँझ मुम्बईमा ८९ वर्षको उमेरमा निधन भएको छ। सञ्चार माध्यमहरूका अनुसार उनको निधनको कारण उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याहरू बताइएको छ।
उनकी नजिककी साथी मङ्गला खाडिलकरले दिएको जानकारी अनुसार सुमनले आइतबार राति करिब ८ बजे अन्तिम श्वास लिएकी थिइन्। जीवनको अन्तिम दिनहरूमा उनी आफैँले गाएका पुराना गीतहरू सुनेर समय बिताउने गर्थिन् र उनले निकै शान्तिपूर्वक यस संसारबाट बिदा लिएकी छन्।
उनको अन्तिम संस्कार सोमबार पवनहंस श्मशान घाटमा गर्ने तयारी गरिएको छ। उनको परिवारमा छोरी चारु छिन्। सङ्गीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै भारत सरकारले उनलाई सन् २०२३ मा प्रतिष्ठित पद्मभूषण सम्मानबाट विभूषित गरेको थियो।
सङ्गीत जगत्मा सुमनको आवाजको तुलना प्रायः सुरसाम्राज्ञी लता मंगेशकरसँग हुने गर्थ्यो। फिल्मफेयरको एक प्रतिवेदन अनुसार उनले हिन्दी, मराठी, असमी, कन्नड, बंगाली र ओडियासहित ११ वटा फरक-फरक भाषामा ३ हजारभन्दा बढी फिल्मी तथा गैरफिल्मी गीतहरूमा आफ्नो स्वर दिएकी छन्।
विशेष गरी सन् १९६० र १९७० को दशकमा उनले आफ्नो सुरीलो आवाजका माध्यमबाट सङ्गीत क्षेत्रमा एउटा बलियो र छुट्टै पहिचान बनाएकी थिइन्। त्यो युगमा लता मंगेशकर जस्ता महान् गायिकाको बलियो प्रभाव रहँदा-रहँदै पनि सुमनले आफ्नो अलग्गै स्थान सुरक्षित गर्न सफल भइन्। उनले गाएका ‘आजकल तेरे मेरे प्यार के चर्चे’, ‘ना ना करते प्यार तुम्हीं से’ र ‘तुमने पुकारा और हम चले आए’ जस्ता सदाबहार गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
धेरैले उनको आवाजलाई लता मंगेशकरको आवाजसँग तुलना गरे पनि सुमन आफैँले भने यस तुलनालाई कहिल्यै स्विकारिनन्। सन् २०२२ मा दिएको एउटा अन्तर्वार्तामा उनले लता आफ्नो निकै नजिकको साथी भएको बताउँदै उनीसँगको भेट सधैँ एउटा घनिष्ट सहेलीसँगको सामीप्यता जस्तो लाग्ने उल्लेख गरेकी थिइन्।
दुवैको गायन शैली र सुरमा पकड उस्तै भएका कारण धेरै पटक स्रोताहरू उनीहरूको आवाज पहिचान गर्न झुक्किने गर्थे। यही विशेषताका कारण सन् १९६० को दशकमा जब लता मंगेशकर र मोहम्मद रफीबिच केही विवाद उत्पन्न भयो, तब सङ्गीतकारहरूको पहिलो रोजाइमा सुमन परिन्। उनले रफी साहबका साथमा एकसे एक ब्लकबस्टर गीतहरू गाइन्।
यस विषयमा कुरा गर्दै सुमनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म उनीबाट निकै प्रभावित थिएँ, कलेजको दिनमा म उनकै गीतहरू सुन्थेँ, मेरो आवाज पातलो र नाजुक थियो, म के गर्न सक्थेँ।’ सुरुवाती दिनहरूमा रेडियो सेलोनले उनको नाम नराखी गीतहरू बजाउने गरेकाले मानिसहरूमा अझ बढी भ्रम पैदा हुने गर्थ्यो। कतिपय अवस्थामा उनको रेकर्डहरूमा नाम समेत गलत लेखिने गरेको थियो।
एक समय जब एचएमभीले ५० वटा उत्कृष्ट गीतहरूको रेकर्डिङ जारी गरेको थियो, त्यसमा सबैभन्दा बढी गीतहरू सुमनकै समेटिएका थिए। यद्यपि क्यासेटको कभरमा भने मोहम्मद रफी, तलत महमूद र किशोर कुमारको मात्र तस्बिर राखिएको थियो। उनले आफ्नो मौलिक पहिचान र गायकीका कारण सङ्गीत इतिहासमा सधैँ स्मरण गरिने सुनौलो पाना छाडेर गएकी छन्।






