काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको केही खण्ड आए पनि पूर्ण पाठ सरकारलाई प्राप्त भैनसकेको जवाफ दिए ।
साथै, उनले आयोगको सो प्रतिवेदन मात्र नभई पुराना सबै आयोगका प्रतिवेदनहरू एकैसाथ अध्ययन गरेर मात्र सार्वजनिक गर्ने र कारबाही अघि बढाउने सरकारको योजना रहेको सुनाए ।
‘त्यो मानवअधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमा ‘अफिसियल्ली’ बुझाइएको छैन । त्यो २९ पेजको केही खण्ड आएता पनि त्यो १० हजार पेजको छ भन्ने सुनिनमा आएको छ । त्यो प्रतिवेदन हामीकहाँ ‘अफिसियल्ली’ रूपमा आइपुगेको छैन’, प्रधानमन्त्री शाहको भनाइ थियो । साथै उनले आयोगको पछिल्लो प्रतिवेदन मात्र नभई पुराना सबै आयोगका प्रतिवेदनहरू एकैसाथ अध्ययन गरेर मात्र सार्वजनिक गर्ने र कारबाही अघि बढाउने योजना बनाएको पनि बताएका थिए ।
प्रधानमन्त्रीले संसदमा दिएको उक्त जवाफपछि आयोगले प्रतिवेदन सरकारलाई पठाएर पनि प्रधानमन्त्रीले ‘आएको छैन’ भनेर ढाँटेका त होइनन् भनेर समेत केहीले प्रश्न गरिरहेका छन् ।
यसअघि राष्ट्रिय मानवअधिकार आयोगले जेठ १३ गते घटनाको अनुसन्धान गर्न आयोगद्वारा गठित समितिले अनुसन्धान सम्पन्न गरी आयोगलाई प्रतिवेदन पेस गरेको थियो ।
‘प्रतिवेदनउपर भएको निर्णय/सिफारिसको विस्तृत विवरण यसैसाथ संलग्न गरिएको छ’ आयोगको प्रेस नोटमा भनिएको थियो । आयोगको यही प्रेस नोटका आधारमा धेरैले प्रतिवेदनको पूर्णपाठ आयोगले सरकारलाई बुझाइसकेको भनेर बुझेको पाइएको छ ।
यसबारेमा रातोपाटीले आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलाई प्रश्न गर्दा उनले प्रधानमन्त्रीले भनेको कुरा सही भएको बताए । ‘२९ पेजको आएको छ र दश हजार पेजको छ भन्ने सुनेको छु त्यो फुल प्रतिवेदन आएको छैन भन्नुभएको हो । हामीले पठाएको पनि त्यही २९ पेजको सिफारिस खण्ड हो र आयोगले पठाउने पनि त्यति नै हो’, सहसचिव समेत रहेका पोखरेलको भनाइ छ ।
पोखरेलका अनुसार आयोगले बनाउने कुनै पनि प्रतिवेदनको निर्णय र सिफारिस खण्ड मात्र पठाउने अभ्यास रहिआएको छ ।
‘आयोगले कुनै पनि प्रतिवेदनको आफ्नो निर्णय र सिफारिस मात्र पठाउने हो’, प्रवक्ता पोखरेलले भने, ‘अहिलेसम्मको अभ्यासअनुसार पूर्ण प्रतिवेदन पठाउने चलन छैन । पूर्ण प्रतिवेदन आयोगमै राख्ने हो ।’
प्रधानमन्त्रीले आयोगबाट प्रतिवेदन प्राप्त भएपछि अध्ययन गरेर सार्वजनिक गर्छौ भन्नुभएको छ नि ? भन्ने प्रश्नमा पोखरेलले आफूले त्यसको जवाफ दिन नसक्ने जनाए ।






