कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरी प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, सैन्य उपकरण, हेलिकप्टर र ड्रोनमा क्षति पुर्‍याएको दाबी गरेको छ । यो जानकारी इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजले सार्वजनिक गरेको हो ।

आईआरजीसीका अनुसार अमेरिकाले स्ट्रेट अफ होर्मुजमा गरेको हस्तक्षेपको प्रतिकारस्वरूप कुवेतको अली अल–सालेम वायुसेना अड्डामा रहेको अमेरिकी सैन्य उपकरण गोदाम र प्याट्रियट मिसाइल प्रणालीलाई लक्षित गरी आक्रमण गरिएको हो ।

आईआरजीसीले अर्को अमेरिकी सैन्य अड्डामा रहेका हेलिकप्टर, ड्रोन तथा एउटा दूरसञ्चार टावरमा पनि ठुलो क्षति पुगेको दाबी गरेको छ । यद्यपि यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन् । यसअघि बिहीबार बिहान कुवेतको सेनाले इरानबाट आएको ड्रोन आक्रमणको लहरलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सामना गरेको जनाएको थियो । तर त्यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

यसैबिच आईआरजीसीले स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने प्रयास गरेको एउटा तेल ट्याङ्कर समुद्रमा बिछ्याइएको बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको दाबी पनि गरेको छ । आईआरजीसीले उक्त सुरुङ आफूहरूले नै राखेको दाबी गर्दै स्ट्रेट अफ होर्मुज अझै आफ्नो नियन्त्रणमा रहेको जनाएको छ । आईआरजीसीका अनुसार अमेरिकी सैन्य बलहरू यस क्षेत्रमा रहेसम्म स्ट्रेट अफ होर्मुज सबै तेल ट्याङ्करका लागि बन्द रहनेछ ।

तर अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमले इरानको उक्त दाबी अस्वीकार गरेको छ । सेन्टकमका अनुसार स्ट्रेट अफ होर्मुज अझै अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावतका लागि खुला छ र अमेरिकी सैन्य सुरक्षासहित व्यापारिक जहाजहरूले नियमित रूपमा उक्त जलमार्ग प्रयोग गरिरहेका छन् । सेन्टकमले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम रहे पनि स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द भएको भन्ने इरानको दाबी सही नभएको स्पष्ट पारेको छ ।

सेयर गर्नुहोस्