उसो त विज्ञानका हरेक क्षेत्रले मानव विकासमा आफ्नै महत्व राख्दछ तर चिकित्सा विज्ञानले मानिसको जीवनमा जस्तो प्रत्यक्ष प्रभाव पारेको छ त्यस्तो सायदै विज्ञानका अन्य शाखाहरुले पारेका छन् । यस्तै एउटा चमत्कार सन् १९७८ को जुलाई २५ मा बेलायतमा भएको थियो । जहाँ विज्ञानको सहयोगबाट पहिलो टेष्टट्युब बच्चाको जन्मा भएको थियो ।
वास्तवमा विकासको क्रममा जबजब मानिसको सामु चुनौतीहरु आए तब मानिसले आफ्नो बुद्धि तथा सिपको प्रयोग गरेर यस्तो खालको समाधान निकाल्दै गएको छ जसले पूरै समाज वा मानवजातिलाई एक नयाँ दिशा प्राप्त हुने गरेको छ । मानिसको यो जटिल यात्रालाई सहज बनाउनमा विज्ञानको ठूलो भूमिका रहेको छ ।
दुनियाँको पहिलो टेष्टट्युब बेबी
रोचक त के भने विश्वको पहिलो टेष्टट्युब प्रविधिबाट जन्मिएकी लुइस ब्राउनले सन् २००६ मा प्राकृतिक रुपमै गर्भधारण गरी बच्चा जन्माइसकेकी छन् ।
के हो टेष्टट्युब प्रविधि अर्थात आईभीएफ
आईभीएफको अर्थ इनभिट्रो फर्टिलाइजेसन हो । जो दम्पत्तिको प्राकृतिक रुपमा गर्भधारण हुन सक्दैन यो प्रविधिले उनीहरुलाई कृत्रिम रुपमा गर्धाधारण गराएर सन्तानसुख प्रदान गर्न सहयोग गर्दछ ।
आईभीएफ प्रक्रियामा शुक्रकिट र डिम्बको मिश्रण हुन्छ । यसमा महिलाको शरीरमा हुने निषेचन प्रक्रिया अर्थात् महिलाको डिम्बसँग पुरुषको शुक्रकिटको मिलन हुने प्रक्रियालाई प्रयोगशालामा एउटा टेष्टट्युबभित्र सम्पन्न गराइन्छ । त्यसपछि उक्त भ्रुणलाई महिलाको गर्भाशयमा स्थानान्तरण गरिन्छ ।एक रिपोर्ट अनुसार हालसम्म विश्वमा कम्तिमा एक करोड २० लाख बच्चाको टेष्टट्युब प्रविधिबाट जन्म भैसकेको छ ।
नेपालमा टेष्टट्युब प्रविधिको इतिहास
विश्वमा टेष्टट्युब प्रविधिबाट पहिलो बच्चा जन्मिएको २७ वर्षपछि अर्थात् सन् २००५ को मार्च ३ मा पहिलो टेष्टट्युब बच्चाको जन्म भएको थियो ।
नेपालमा टेष्टट्युब प्रविधि भित्राउने चर्चित नाम डाक्टर भोला रिजाल हो । नेपालको पहिलो टेष्टट्युब बेबीको नाम ओममणी तामाङ हो । डाक्टर रिजाल नेतृत्वको टोलीको सफल आईभीएफ उपचारमार्फत् ओम अस्पतालमा वि.सं २०६१ सालमा राजेन्द्र तामाङ र सन्ध्या तामाङ दम्पत्तिबाट ओममणी तामाङको जन्म भएको हो ।
हालसम्म यो प्रविधिबाट नेपालमा कति बच्चा जन्मिए भन्ने एकीकृत तथा भरपर्दो तथ्यांकको भने अभाव छ ।