स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्नु पर्छः मन्त्री जोशी

चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा सबै जनताको अधिकार पुग्नु पर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाको ५२ औं साधारणसभा शनिवार सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुग्नु पर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा अहिले भएका सेवाहरु अझै अपुग भएको भन्दै उहाँले यसलाई बिस्तार गर्दै अघि वढ्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेका कामहरु अहिले सम्मकै उत्कृष्ठ भएको भन्दै उहाँले यसलाई अझै प्रभावकारी रुपमा कार्यान्वयमा ल्याउनु पर्ने बताउनुभयो । रेडक्रस एउटा सामाजिक संस्था भएको भन्दै उहाँले यसको गरिमा कायम गर्दै सामाजिक काममा लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सामाजिक उत्तरदायीत्वलाई आत्मसाथ गर्दै अघि वढ्नुपर्ने हुन्छ ।”

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले रेडक्रसले बिपत्तिको समयमा खेल्ने भूमिका महत्वपूर्ण भएको बताउनुभयो । यसको भूमिकालाई अझै प्रभावकारी बनाउँदै लैजना सके समाज परिवर्तनमा सहज हुने उहाँहरुको भनाई थियो । जुन सुकै समयमा पनि बिना व्यवधान सेवामा लाग्नु सामान्य कुरा नरहेको उहाँहरुले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, नेपाल रेडक्रस सोसाइटी वागमती प्रदेशका अध्यक्ष भोलानाथ रुपाखेती, मकवानपुर जिल्ला शाखाका सभापति लालबहादुर थापा, नवलपरासी सुस्ता पूर्वका सभापति ऋषिराम कंडेल,वी.पि.कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजय न्यौपाने, नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, ने.क.पा. एमालेका प्रतिनिधि श्याम विष्ट, ने.क.पा. माओवादीका प्रतिनिधि सागर अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक कृष्णप्रसाद भूषाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठ, चितवन उद्योग संघका प्रतिनिधि गजेन्द्र अधिकारी, नेपाल क्षयरोग निवारण संस्था चितवनका सभापति दामोदर न्यौपाने, नेपाल पत्रकार महासंघ चितवनका नारायण अधिकारी लगाएतले रेडक्रसले खेल्ने भूमिकाका बिषयमा बोल्नुभएको थियो ।

साधारण सभामा शाखाका मन्त्री राममणी खनाल बार्षिक प्रतिबेदन, कोषाध्यक्ष विजयराज खनालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाको अबसरमा पूर्व सभापति वावुराम श्रेष्ठ, पूर्वउपसभापति एवं शिक्षाविद् डा.केशवभक्त सापकोटा, कार्यसमितिका पूर्वसदस्य केदारनाथ कोइराला, नेपाल रेडक्रस सोसाइटी शुक्रनगरका निवर्तमान सभापति एवं भरतपुर महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष छविलाल सापकोटा, वीरेन्द्रनगर उपशाखाका पूर्वसभापति राजकुमार कंडेल, कृष्णपुर उपशाखाका पूर्वसभापति गंगाप्रसाद चापागाई, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारीलाई सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्