चितवन, फागुन १०-
रत्ननगरस्थित लाइसियम स्कुलमा “म पुस्तक पढ्छु” कार्यक्रमको दोस्रो चरणको प्रस्तुति सम्पन्न भएको छ । विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगरका नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेको प्रमुख आतिथ्यमा कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।
रत्ननगर नगरपालिका शिक्षा तथा खेलकुद शाखा संगको समन्वय, रत्ननगर वाङ्मय प्रतिष्ठानको प्राज्ञिक सहयोग तथा अनकोन र आमा फाउण्डेशनको आर्थिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो । लाइसियम स्कुलको भवन निर्माणस्थल, रत्ननगर १०, हरिहर टोलमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र तथा विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको छ ।
उक्त कार्यक्रममा सहभागी भएका १८ वटा विद्यालयका प्रतिनिधि विद्यार्थीहरुमध्ये स्काइराइडर आवासिय माविका छात्रा प्रशंसा पुुरी प्रथम, प्यारागन माविका छात्रा तेजश्वी आचार्य द्धितीय र नर्थप्वाईन्ट एकेडेमीका छात्रा आयुषा भट्टले तृतीय स्थान हासिल गरि क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा रत्ननगर वाङ्मय प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनाल, सदस्य केशवराज आमोदी सहित मूल्याङ्कन समूहको नेतृत्व गरेका प्रतिष्ठानका अध्यक्ष रामवावु घिमिरेले लाइसियम स्कुलले सबैलाई जुटाएर पठन संस्कृतिको विकास सम्वन्धि प्रभावकारी कार्यक्रमको थालनी गरेकोमा आफुलाई खुशी लागेको बताए ।
कार्यक्रममा अनकोनका नेपाल प्रतिनिधि वासुराज विष्ट तथा आमा फाउण्डेशनका प्रतिनिधि नविन जोशीले विद्यार्थीहरुको पठन संस्कृतिको विकासका लागि आफु सम्वद्ध संस्थाले विगत देखिनै विभिन्न रचनात्मक सहयोग गरि रहेको बताए ।
रत्ननगर नगरपालिका शिक्षा अधिकृत सुमन सिलवाल, रत्ननगर प्याब्सनका सचिव तथा नर्थ प्वइन्ट एकेडेमीका प्रधानाध्यापक टेकनाथ अर्याल, कालिका प्याब्सनका अध्यक्ष तथा पदमपुर शिक्षा निकेतनका प्राधानाध्यापक होम बहादुरथापाले शुभकामना मन्तव्य सहित पठन संस्कृतिका सम्वन्धमा आफ्ना समसामयिक भनाई राखेका थिए ।
लाइसियम स्कुलका शिक्षक भिमा कुमारी थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रवन्ध निर्देशक सन्तोष पन्तले स्वागत मन्तव्य सहित माघ १८ गते सञ्चालित कार्यक्रमको अन्तिम चरणको कार्यक्रम स्वरुप आयोजना भएको “म पुस्तक पढ्छु” कार्यक्रमको प्रस्तुति चरणका मूल्याङ्कनका आधार बारे जानकारी गराए ।