पुलचोक–गोन्द्राङ सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली भोलि चितवन आउने

छ लेनमा विस्तारित ६.०८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली भोलि चितवन आउँदै छन् । ओलीले नै चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका थिए । संघीय सरकारको बजेमा सडक विस्तार गरिएको हो ।

यसअघि गएको चैत २५ गते उद्घाटन गर्ने भनिएकामा कार्य व्यस्तताका कारण ओली आउन पाएका थिएनन् । सडकको उद्घाटन लगायत चितवन–नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन ओली नेपालीको सेनाको हेलिकप्टरमा चितवन आउन लागेका हुन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले भोलि सुरुमा इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकिय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुर आएर पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्ने छन् ।

सुरूमा एक अर्ब १२ करोड रूपैयाँमा काम सक्ने गरी पुलचोक–गोन्द्राङ सडक विस्तारको जिम्मा इन्डो सगुन जेभीले पाएको हो । निर्माणका क्रममा लागत बढेर एक अर्ब ७६ करोड रूपैयाँ पुगेको हो । सडक विस्तारपछि भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । सडकको दायाँ–बायाँ ११.५/११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन छ, जहाँ दुबो र बिरूवा लगाइसकिएको छ ।

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ छ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ रहेको छ । एक्सप्रेस लेन लामो दूरीका सवारीसाधन र सर्भिस लेन छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि निर्माण गरिएको हो ।

भोलि नै एमाले भरतपुुर महानगर कमिटीको अधिवेशन उद्घाटन गरी ओली नारायणगढ–बुटवल सडकको निरीक्षणमा जानेछन् । नवलपुरमा एमालेका प्रतिनिधिसँग ओलीले भेटघाट गर्ने कार्यक्रम रहेको छ । भोलि बेलुका साढे ४ बजे प्रधानमन्त्री ओली काठमाडौँ फर्किनेछन् ।

सेयर गर्नुहोस्