जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गत आवमा रु पाँच करोड ७७ लाख आम्दानी गरेको छ । ‘एक्याप’मा रहेका ५७ संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने आम्दानी स्थानीयस्तरमै संरक्षण गतिविधि र विकास निर्माणका काममा खर्च हुने गरेको आयोजना प्रमुख डा रविन कडरियाले बताउनुभयो ।
उहाँका अनुसार प्राकृतिक स्रोतको स्थानीय उपयोगबाट आव २०८०/८१ मा रु तीन करोड ९० लाख सङ्कलन भएको थियो । सोको तुलनामा पछिल्लो वर्ष झण्डै रु दुई करोडले आम्दानी बढेको उहाँले बताउनुभयो । “जडीबुटी, काठदाउरा, ढुङ्गा गिट्टीलगायतको उपयोगबापत संरक्षण क्षेत्र व्यवस्थापन समितिले सो रकम उठाउने गर्छन्”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो, “सङ्कलित रकमलाई व्यवस्थापन समितिले वार्षिक कार्यक्रम र योजना बनाएर खर्च गर्छन् ।”
अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमूल्य यार्सागुम्बालगायत जडीबुटीको सङ्कलन तथा निकासी हुँदै आएको छ । जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्त्वपूर्ण टेवा पुगेको छ । ‘एक्याप’ले प्राकृतिक स्रोतसाधनको उपयोग र संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । पर्यटक प्रवेश शुल्कलगायतबाट हुने आम्दानीलाई संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च गर्ने गरिएको उहाँको भनाइ छ ।
‘एक्याप’ले पदमार्ग, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । यस क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको प्रवेश शुल्कबाट मात्र वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । ‘एक्याप’भित्र पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ ।
विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका पर्यटबाट गत आवमा रु ३० करोड १७ लाख ५२ हजार प्रवेश शुल्क उठेको थियो । सरकारले तिब्बतसँग नाका जोडिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकले अनुमति लिनुपर्ने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गरेका छन् । रासस