सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन् । शुक्रबार सञ्चारमन्त्री खरेलले त्रिवि शिक्षण अस्पताल पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् ।
आन्दोलनकै उपलब्धिस्वरूप तत्कालीन केपी शर्मा ओली सरकार पतन भएको थियो । अन्तरिम सरकारकी प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएकी छन् ।
कार्की मन्त्रिपरिषद्मा सञ्चारमन्त्रीको रूपमा खरेल नियुक्त भएका छन् । मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रबार जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेर उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । उनले घाइतेहरूको स्वास्थ्यलाभको कामनासमेत गरे ।
घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग उनले घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेनजीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाए ।
– न्युज एजेन्सी नेपाल