भरतपुर । चाडपर्वको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र अपराधिक क्रियाकलाप बढी हुने गरेको तथ्यांक छ । त्यसमाथि यतिखेर गैँडासँग सम्बन्धीत रहेका कैदीबन्दी फरार भएको हुँदा संरक्षणमा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जको निष्कर्ष छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले अपराधिक समूह बाहिर हुँदा चोरी सिकारी हुने सम्भावना बढी रहेको बताए । ‘अहिले सजाय पाएका कैदीबन्दी बाहिर छन् । उनीहरु फेरी सलबलाउन सक्छन्,’ डा पन्तले भने ‘यसलाई मध्यनजर गर्दैै हामीले सुरक्षालाई कडाइ गरेका छौँ ।’ चितवनको भरतपुर कारागारमा गैँडासँग सम्बन्धीत मुद्दाका ४८ कैदीबन्दी थिए ।
जेनजी आन्दोलनको मौका छोपेर भदौ २५ गते बिहान सबै कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये १४ जना कैदीबन्दी फर्किएका छैनन् । संवेदनशील अवस्थालाई बुझेर सुरक्षाका लागि पूर्व तयारी गरिरहेको उहाँले बताउनुभयो । अहिले जिप सफारीका लागि निकुञ्ज खुलाउने तयारी गरिएको छ । फूलपातीअघि जिप सफारीका लागि अनुमति दिने गरी काम भइरहेको उनले बताए ।
त्यसका लागि जिप दर्ता गर्न थालिएको उनले बताए । ‘गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदैछ’, उहाँले भन्नुभयो, ‘यहाँको सुरक्षालाई व्यवस्थित गरेर निकुञ्ज खुलाउँछौँ ।’
असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको थियो । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन हुने गर्दछन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्ने गर्दछन् ।
चितवन प्रशासनले सूचना निकालेर कारागारबाट बाहिरिएका सबै कैदीबन्दीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको थियो । त्यसयता ५६२ जना कैदीबन्दी फर्किएका छन् । तर वन्यजन्तु, लागुऔषध, कर्तव्य ज्यान, सहकारी ठगी सम्बन्धीका अधिकांश व्यक्तिहरु नर्फिएको भरतपुर कारागारका प्रमुख रवीन्द्र ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार १८२ जना फिर्ता हुन बाँकी छन् । यहाँबाट ७४४ जना कैदीबन्दी भागेका थिए ।