थारू कवि भजुमनराम महतोको कृति ‘कविता माला दिउवा’ लोकार्पण

थारू समुदायको समृद्ध सांस्कृतिक र साहित्यिक धरोहरलाई नयाँ ऊँचाइमा पु¥याउने उद्देश्यका साथ अग्रज लेखक एवम् कवि भजुमनराम महतो कृति थारू भाषाको कविता सङ्ग्रह ‘कविता माला दिउवा’ एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ ।

भरतपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि थारू लेखक संघका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ थारू साहित्यकार कृष्णराज सर्वहारीले कृतिको लोकार्पण गर्नु भएको हो । उहाँले ‘कविता माला दिउवा’लाई थारू भाषाको काव्य यात्रामा एक महत्वपूर्ण रचनात्मक जोडका रूपमा व्याख्या गर्दै भने—“थारू साहित्य अहिले निरन्तर विकासको बाटोमा छ । भजुमनराम महतोजस्ता स्रष्टाहरूको सिर्जनाले हाम्रो भाषा, संस्कृति र पहिचानलाई बलियो बनाउने काम गरेको छ ।”

थारू लेखक संघ, चितवनका अध्यक्ष चन्द्रमणी महतोले कविको समर्पण र साहित्यिक योगदानको प्रशंसा गर्दै भने—“भजुमनराम महतो, थारू भाषाका अभियन्ता मात्र होइनन्, भावनाका कवि पनि हुन् । उहाँका कवितामा दुःख, माया, संघर्ष र जीवनको गहिरो यथार्थ गुँथिएको छ ।”

समर्पण र भावनाको प्रतीक ‘दिउवा’

कविता सङ्ग्रह ‘कविता माला दिउवा’ कवि महतोले आफ्नी स्वर्गीय पत्नी लछुमिनिया महतोको पाँचौँ पुण्य तिथिको स्मृतिमा लोकार्पण गर्नुभएको हो ।
कविले पुस्तकमार्फत आफ्नी जीवनसंगीनीको सम्झनालाई सिर्जनाको उज्यालो “दिउवा” (दीयो) मा रूपान्तरण गरेका छन् ।

उक्त कवितासङ्ग्रहमा विशेषगरी थारू समाजकी चेलीहरूको पीडा, वेदना, आत्मबल र असमानता विरुद्धको मौन प्रतिवाद अभिव्यक्त गरिएको छ।
पुस्तकका कविताहरूले थारू समाजका गहिरा भावनात्मक तहमा पुगेर नारी संवेदना, सामाजिक संरचना र अस्तित्वको प्रश्न उठाएका छन् ।

समीक्षा र परिचर्चाः

कार्यक्रममा पुस्तक समीक्षा तथा परिचर्चाका लागि सामजविद् एवम् समालोचक डाक्टर सञ्जय महतो र थारू भाषा साहित्यका ज्ञाता बाबुराम पाण्डे उपस्थित थिए ।

डाक्टर सञ्जय महतोले ‘दिउवा कविता माला’ लाई थारू भाषाको आधुनिक कवितामा एउटा साहित्यिक मोडको रूपमा व्याख्या गर्दै भने—“भजुमनराम महतोका कवितामा आत्मस्वर, समाजस्वर र समयस्वर मिसिएका छन् । यो केवल कविता सङ्ग्रह होइन, थारू समाजको अन्तरआवाज हो ।”

समीक्षक बाबुराम पाण्डेले भने — “कविताको भाषिक बनावट सरल भए पनि यसको भावनात्मक गहिराई अत्यन्त सबल छ । यो पुस्तकले नयाँ पुस्ताका स्रष्टालाई प्रेरणा दिनेछ ।”

कार्यक्रममा विभिन्न साहित्यकार, बौद्धिक तथा सामाजिक व्यक्तित्वहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र प्रसाद रेग्मीले थारू भाषाको संरक्षण र साहित्यिक विकासमा थारू लेखक संघको अग्रणी भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो ।

भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतो, कवि एवम् साहित्यकार रवि किरण निर्जीव, वरिष्ठ साहित्यकार एवम् समालोचक डिआर पोखरेल, अग्रज थारू लेखक लक्ष्मण प्रसाद चौधरी, गजलकार एवम् साहित्यकार धनराज गिरी, थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी, थारू कल्याणकारिणी सभा चितवनका कोषाध्यक्ष सविता चौधरी लगायतका वक्ताहरूले पनि ‘कविता माला दिउवा’ लाई थारू समाजको आत्मपहिचानसँग जोडिएको ऐतिहासिक दस्तावेजका रूपमा वर्णन गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य थारू लेखक संघ, चितवनका उपाध्यक्ष डाक्टर राउतले प्रस्तुत गरेका थिए ।
उहाँले संघको तर्फबाट स्रष्टा भजुमनराम महतोप्रति आभार व्यक्त गर्दै थारू भाषाको साहित्यिक अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको संचालन थारु पत्रकार संघ चितवनका अध्यक्ष एवं लेखक मनोज चौधरीले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले कवि भजुमनराम महतोको समर्पण, थारू भाषाप्रतिको प्रेम र साहित्यिक योगदानप्रति गहिरो सम्मान व्यक्त गरेका थिए ।

सेयर गर्नुहोस्