राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु भएको छ ।
सौराहास्थित सभाहलमा सुरु भएको बैठकको कार्यवाहक सभापति डीपी अर्यालले घण्टी बजाएर र उपसभापति डा.स्वर्णीम वाग्लेले राष्ट्रिय झण्डा फहराएर समुद्घाटन गरेका छन् । दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, आगामि निर्वाचनका लागि उपसभापति स्वर्णीय वाग्लले वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने प्रवक्ता झाले जानकारी दिए ।
विभिन्न सत्रमा समूह बनाएर प्रस्तावना माथि छलफल गर्ने तालिका छ । बैठकमा पार्टी भित्र नयाँ नेतृत्वको विषयमा पनि छलफल हुने बताईएको छ । यस्तै आगामि निर्वाचन र पार्टीको महाधिवेशनको विषयमा पनि बैठकले निर्णय गर्ने प्रवक्ता झाले जानकारी दिए । रास्वपाले यसअघि फागनुमै चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेपछि महाधिवेशन बारे रास्वपाले अर्को निर्णय गर्न लागेको हो ।
बैठकमा केन्द्रीय समिति, निर्वाचन क्षेत्र समिति संयोजक, निर्वाचन भइसकेका स्थानीय पालिका संयोजक, जिल्ला संयोजक, प्रदेश सचिवालय पदाधिकारी, प्रदेश विभागका पदाधिकारीलगायतका गरी ५१२ जनाको सहभागिता रहेको छ ।
बैठकमा सहभागिहरुलाई सौराहाका होटेलहरुमा बस्ने व्यवस्था मिलाईएको छ । बसोबासको शुल्क भने स्वंम प्रतिनिधिले व्यहोर्नु पर्ने रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए ।







