मधुमेह नियन्त्रणका लागि चितवनका कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक

विश्वभर महामारीका रूपमा फैलिएको मधुमेह नियन्त्रणका लागि कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक रहेको चिकित्सले बताएका छन् ।

भरतपुर अस्पतालका इन्डोक्रिनोलोजी विभागका वरिष्ठ विशेषज्ञ डा कल्याण सापकोटाले विश्व मधुमेह दिवसका अवसरमा रासससँग कुरा गर्दै कार्यस्थलमा मधुमेहसम्बन्धी चेतना बढाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डा सापकोटाका अनुसार मधुमेह जोसुकैलाई लाग्न सक्छ र यसलाई व्यक्तिगत जीवनशैली सुधारेर नियन्त्रण गर्न सकिन्छ । अस्वस्थकर खानपान, निष्क्रिय जीवनशैली र उच्च तौलले रोगको जोखिम बढाउने हुँदा यी पक्षमा ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

विशेषगरी कार्यस्थलमा खानपान असन्तुलित वा अनियमित हुँदा मधुमेहको जोखिम बढ्ने भएकाले कर्मचारी तथा कामदारको स्वास्थ्य कायम राख्न खानपान र जीवनशैलीको सन्तुलन अत्यावश्यक हुने डा सापकोटाले बताउनुभयो । उहाँले मधुमेह नियन्त्रणका लागि पौष्टिक आहारको सेवन आवश्यक रहेको उल्लेख गर्दै, सुगर नबढ्ने र कम कार्बोहाइड्रेट भएका खाना रोज्न, बढी घीउ–तेल र फ्राई नगर्न, साथै धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो । यी उपायले मधुमेह नियन्त्रणमा राख्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

यस वर्षको विश्व मधुमेह दिवसको नाराअनुसार कार्यस्थलमा मधुमेह र स्वास्थ्यसम्बन्धी जागरुकता बढाउन स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउनु आवश्यक छ । मधुमेह भएका कर्मचारीलाई नियमित रूपमा जाँच र परामर्श दिइनुपर्ने भएकाले लामो समय काम गर्ने कर्मचारीलाई बीचबीचमा ब्रेक लिन, हल्का हिँड्न वा सरल व्यायाम गर्न सुविधा मिलाउनुपर्ने डा सापकोटाले जोड दिनुभयो ।

डा सापकोटाले स्वस्थ खानपानको महत्वमा जोड दिँदै भन्नुभयो,, “के खाइन्छ र कसरी खाइन्छ भन्ने कुरा स्वास्थ्यमा ठूलो भूमिका खेल्छ । पेट भर्ने मात्र होइन, शरीरलाई आवश्यक ऊर्जा र पोषण दिने खानाको मात्रा, गुणस्तर र सन्तुलन कायम गर्नुपर्छ”, उहाँले भन्नुुभयो, “कामअनुसार खानपान मिलाउनु जरुरी छ । कसरत गर्ने वा टेबलमा बस्ने कर्मचारीको खानाको प्रकार फरक हुनुपर्छ । शरीरलाई आवश्यक ऊर्जाअनुसार क्यालोरी, प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन मिलाएर खाना आवश्यक हुन्छ ।”

विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय मधुमेह समाजले विश्व मधुमेह दिवस प्रत्येक वर्ष मनाउने गरेका छन् । यस वर्ष पनि कार्यस्थलमा मधुमेह र स्वास्थ्यको विषयमा विशेष ‘फोकस’ गर्दै दिवस मनाइएको छ । रासस

सेयर गर्नुहोस्