नारायणगढ लायन्स क्लव, लायन जीतबहादुर पिया व्यवसायिक तालिम केन्द्रले माडीका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य स्वरुप तीन महिने सिलाई तथा कटाई प्रशिक्षणलाई निरन्तरता दिएको छ । विगत ३ वर्षदेखि संचालन गर्दै आइरहेको तालिमको १२औं समूहको सुरुवात गरिएको छ ।
सोमबार एक कार्यक्रमकाबीच माडी नगरपालिका–१, स्थित सेरुवामा १२औं ऋंखलाको औपचारिक रुपमा समुद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका द्धितिय भाइस गर्भनर पीएमजेएफ लायन दीपेन्द्र खतिवडाले कपडालगायतका सामग्री हस्तान्तरण गर्दै तालिमको समुद्घाटन गरे ।

सो क्रममा बोल्दै खतिवडाले तालिमबाट भरपुर फाइदा लिन र नजानेको कुरा पटकपटक सोधेर पूर्ण हुन आग्रह गरे । उनले प्राथमिक तालिमबाट अपुग भए एडभान्स तालिम समेत गराउन सकिने भन्दै त्यसका लागि पहिलो चरणमा सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले यस तालिमबाट सीप सिकेर आत्मनिर्भर बन्न आवश्यक रहेको बताए । माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले घरको चुलोचौकामा सिमित महिलाहरु अब आत्मनिर्भरको बाटो औल्याउनुपर्ने बताए । उनले लायन्सबाट निकै महत्वपूर्ण तालिम प्रदान गरिएकोमा नारायणगढ लायन्सलाई धन्यवाद दिँदै आवश्यक परे नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नारायणगढ लायन्स क्लवका अध्यक्ष एमजेएफ लायन सनद कुमार पियाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप नै यो तालिमको सुरुवात गरिएको भन्दै सक्रिय सहभागिता जनाउन आग्रह गरे । उनले आवश्यक परे सबै सहयोग गर्न क्लव तयार रहेको भन्दै तालिम लिए पश्चात व्यवसायिक रुपमा महिलाहरु अघि बढ्नेमा विश्वास व्यक्त गरे । उनले यस भन्दा थप एडभान्स तालिम दिन परे पनि क्लव तयार रहेको भन्दै सक्रिय सहभागिताको भने जरुरी रहेको बताए । तालिमको स्थानीय संयोजक धनबहादुर गुरुङले लायन्सले आफै पैसा संकलन गरेर तालिम दिएको भन्दै त्यसको फाइदा उठाउन महिलाहरुलाई आग्रह गरे ।

यसैबीच सोमबार नै माडीस्थित नयाँ पर्सामा ११औं समूहको तालिमको औपचारिक समापन गरिएको छ । गत असारबाट नयाँ पर्सामा तालिमको सुरुवात गरिएको थियो ।
नारायणगढ लायन्स क्लवका पूर्व अध्यक्ष एवं लायन जीतबहादुर पिया व्यवसायिक तालिम केन्द्रका संरक्षक एमजेएफ लायन शान्त कुमार पियाले तालिमबाट सिकेका कुरालाई अब व्यवहारिक रुपमा उतार्न आग्रह गरे । तालिमको सुरुवातको चरणमा धेरै प्रशिक्षार्थी सहभागि भए पनि समापनसम्म आइपुग्दा निकै कम उपस्थिति रहेकोमा चिन्ता प्रकट गर्दै महत्वपूर्ण तालिमहरुको भरपुर फाइदा उठाउन आवश्यक रहेको बताए । उनले यो तालिमबाट राम्रो गर्दै जानेलाई थप तालिम पनि दिन सकिने बताए ।

तालिममा सहभागि भएका प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका द्धितिय भाइस गर्भनर दीपेन्द्र खतिवडालगायतले प्रमाण पत्र प्रदान गरेका थिए । प्रशिक्षक भरत परियारले महिलाहरुलाई तीन महिनासम्म लगातार सिलाई तथा कटाईको तालिम दिएका थिए । कार्यक्रममा नारायणगढ लायन्सका पूर्व अध्यक्ष एवं क्लस्टर ४ का चिफ एमजेएफ लायन राजु पिया, क्लवका पूर्व अध्यक्ष एवं डिष्ट्रिक डिपार्टमेन्ट कोअडिनेटर लायन प्रशान्त पिया, तालिमको सचिवका भूमिका निर्वाह गरिरहेका श्रीकृष्ण महतोलगायतको उपस्थिति रहेको थियो ।
दुवै कार्यक्रम नारायणगढ लायन्स क्लबका सचिव लायन बिधान श्रेष्ठले संचालन गरेका थिए ।









