चितवनको टिकौलीमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

मोटरसाइकल आफैं अनियन्त्रित भइ पल्टिँदा चितवनमा एक जनाको मृत्यु भएको छ । गएराति पौने तीन बजेतिर भरतपुरबाट पूर्व टाँडीतर्फ जाँदै गरेको बा प्र ०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–९ टिकौली पूर्व-पश्चिम राजमार्गमा पल्टेको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका माडी नगरपालिका–१ गर्दीका २० वर्षीय तुशल महतोको उपचारका क्रममा निधन भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए । दुर्घटनामा परेको मोटरसाइकल तुशलले चलाएको प्रहरीको भनाइ छ । उनको दाहिने खुट्टा र छातीमा भित्री चोट लागेको थियो ।

मोटरसाइकल पछाडि बसेका गर्दकै १९ वर्षीय अंकित महतोको ढाडमा चोट लागेको छ । गम्भीर अवस्थाका तुशल र सामान्य अवस्थाका अंकितलाई उपचारका लागि भरतपुरमा रहेको सेन्ट्रल अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा तुशल महतोको बिहान साढे तीन बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्