चितवनमा ज्येष्ठ नागरिकका लागि ‘डे कयेर’ (आवास केन्द्र) सञ्चालनमा आएको छ । आरोग्य केयर होमले आज (शुक्रबार)देखि भरतपुर महानगरपालिका १२ स्थित नौरङ्गेमा १५ बेड सहितको आवास केन्द्र औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।
पछिल्लो समय ज्येष्ठ नागरिकका लागि सुरक्षित, सम्मानजनक र समग्र हेरचाहको आवश्यक भएकाले उनीहरुको सुविधाका लागि आवास केन्द्र स्थापना गरिएको केयर होमका सञ्चालक फणीन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ २४ घण्टा नर्सिङ सेवा, आवश्यकता अनुसार डाक्टरको परामर्श, फिजियोथेरापी सहितका औषधि व्यवस्थापन सम्बन्धि सेवा समेत उपलब्ध रहेको छ । धार्मिक तथा पर्यटन क्षेत्रको भ्रमण, आपतकालिन स्वास्थ्य निगरानी, मनो सामाजिक परामर्श लगायतका सामाजिक गतविधिहरु समेत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । यहाँ मेडिकल सुविधा हेरेर प्रत्येक दिन पाँच सयदेखि तीन हजारसम्मको शुल्क रहेको उहाँले बताउनुभयो ।
डे केयर झण्डै १७ हजार वर्गफुट क्षेत्रफलमा फैलिएको छ । ज्येष्ठ नागरिकलाई घरमै बसेको अनुभूति दिलाउनने उद्देश्यका साथ आवासीय, स्वास्थ्य, पुनस्र्थापाना तथा मनोसामाजिक सेवाहरु एकीकृत रुपमा प्रदान गरिने न्यौपानेको भनाई छ । परिवारका सदस्यहरुको व्यस्त जीवनशैलीका कारण प्रत्यक्ष हेरचाह गर्न नसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिक र परिवार दुवैलाई सहज हुने भएकाले भरतपुरमा डे केयरको आवश्यक रहेको वडाध्यक्ष लेखराज पन्तले बताउनुभयो ।
शुक्रबार भएको उद्घाटन कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल, भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी, ज्येष्ठ नागरिक समाजका अध्यक्ष टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारी लगायतले बोल्नुभएको थियो । उहाँहरुले अहिलेको व्यस्त जिवन शैलीका कारण शहरमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा सहितको डे केयर आवश्यक रहेको बताउनुभयो ।







