खिचराः थारु समुदायको नयाँ वर्ष, मुक्ति दिवस र जीवनपद्धतिको उत्सव

नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देश हो । यही विविधताको सुन्दर र जीवन्त उदाहरण हो—थारु समुदायले मनाउने खिचरा पर्व । खिचरा केवल एक चाड मात्र होइन, यो थारु समुदायको नयाँ वर्ष, मुक्ति दिवस, आर्थिक वर्षको सुरुआत, सामाजिक पुनर्संरचना र सांस्कृतिक पहिचानको उत्सव हो ।

स्थानअनुसार फरक–फरक नामले चिनिने यो पर्व पश्चिम नेपालमा माघ, खिचडी वा खिचरी, पूर्वी क्षेत्रमा तिला सक्राइत र चितवनका थारु समुदायमा खिचरा भनेर मनाइन्छ । नेपाल सरकारको सांस्कृतिक सूचीमा यसलाई ‘माघी’ पर्वका रूपमा सूचीकृत गरिएको छ । अन्य समुदायमा भने यही दिन माघे सक्रान्ति वा मकर सक्रान्तिका नामले चिनिन्छ ।

नयाँ वर्षको सुरुआत र जीवनको नयाँ चक्र

थारु समुदाय खिचरालाई पुरानो साल समाप्त भएर नयाँ साल शुभारम्भ भएको दिनका रूपमा मनाउँछ । यसैले यो पर्व वर्षको परिवर्तन मात्र होइन, जीवनको नयाँ चक्र सुरु भएको संकेत पनि हो । वर्षभरि गरिएका कामको लेखाजोखा, पुराना सम्झौता टुंग्याउने र नयाँ योजना थाल्ने परम्परा यही दिनसँग जोडिएको छ ।

परापूर्वकालीन थारु समाज सामाजिक वर्गीकरणमा आधारित थियो । त्यतिबेला जिम्दार, रैति र बहरिया गरी तीन वर्ग प्रचलनमा थिए । जिम्दार र केही रैति सम्पन्न वर्गमा पर्दथे भने धेरैजसो रैति र बहरिया आर्थिक रूपमा कमजोर थिए । जीविकोपार्जनका लागि उनीहरू धनी वर्गको घरमा एक वर्षका लागि अनुबन्धित श्रमिक बन्न बाध्य हुन्थे ।

खिचरा: श्रमबाट मुक्तिको दिन
बहरियाहरूका ती अनुबन्ध खिचराकै दिन समाप्त हुन्थे । त्यस दिनदेखि उनीहरू स्वतन्त्र मानिन्थे । यही ऐतिहासिक पृष्ठभूमिका कारण खिचरा पर्वलाई थारु समुदायले मुक्ति दिवस का रूपमा पनि सम्झन्छ । यो पर्व श्रम शोषणबाट मुक्ति, स्वतन्त्रता र आत्मसम्मानको प्रतीक बनेको छ ।

खिचरापछि गृहतले बहरियालाई बाँकी पारिश्रमिक दिने, कामको हिसाबकिताब मिलाउने र नयाँ सम्झौता नगरेसम्म स्वतन्त्र बस्न दिने चलन थियो । कसैलाई तिर्नुपर्ने ऋण, बक्यौता र लेनदेन पनि यही समयमा चुक्ता गरिन्थ्यो ।

पारिवारिक निर्णय र आर्थिक वर्षको थालनी

खिचरा पर्व थारु समाजमा पारिवारिक पुनर्संरचना सँग पनि जोडिएको छ । ठूला परिवारमा दाजुभाइहरू सँगै बस्ने कि छुट्टिएर बस्ने भन्ने निर्णय यही समयमा गरिन्थ्यो । पुरानो कारोबार बन्द गरेर नयाँ कारोबार सुरु गर्ने, घरमूली छनोट गर्ने र जिम्मेवारी बाँडफाँड गर्ने कार्य पनि खिचरा लगत्तै हुने गथ्र्यो । यसैले खिचरालाई थारु समुदायले नयाँ आर्थिक वर्षका रूपमा समेत लिने गर्छ ।

धार्मिक आस्था र सामाजिक परम्परा

खिचराको दिन देवघाट, त्रिवेणीलगायत विभिन्न धार्मिक स्थलमा गई दिवंगत आफन्तको बरखी सेलाउने चलन छ । यसले पूर्वजप्रतिको सम्मान र धार्मिक आस्थालाई बलियो बनाएको छ ।

खिचराको अघिल्लो दिन पुस मसान्तलाई ‘मछुवारी’ भनिन्छ । पहिले खोलानाला र तालतलैयामा गई माछा मार्ने गरिन्थ्यो । अहिले भने समय र परिस्थितिअनुसार बजारबाट पोखरीको माछा किनेर ल्याउने चलन बढ्दै गएको छ ।

माघी लाहान र भगिना बरामनको परम्परा

माघ १ गते चितवनका थारु समुदायका लागि खिचराको मुख्य दिन हो । यस दिन बच्चादेखि वृद्धसम्म सबैले सबेरै स्नान गर्नुपर्छ, जसलाई माघी लाहान भनिन्छ । स्नानपछि भानिज हुनेहरूले भान्जालाई दानदक्षिण दिन्छन् । भान्जा नभएकाहरूले ब्राह्मण बोलाएर दान गर्ने परम्परा छ ।

थारु भाषामा भान्जालाई भगिना बरामन भनिन्छ । भान्जालाई ब्राह्मणसरह मानेर दानदक्षिण दिनु थारु समाजको विशिष्ट र अनौठो सांस्कृतिक अभ्यास हो ।

चिच्चरको प्वाकास् प्रकृतिको अमृत

दानपछि सबै मिलेर चिच्चरको प्वाका माछासँग खाने चलन छ । अनदीको चामल आठ–दश घण्टा भिजाएर पानी निकाली बाफमा दुई–तीन घण्टा पकाउँदा चिच्चर तयार हुन्छ । त्यसलाई केही समय सेलाएर डल्लो बनाई भोर्लाको पात ९मन्हनक पाता० मा बेरेर बाँध्दा प्वाका बन्छ । भोर्लाको पात नपाएमा केराको पात आगोमा सेकाएर प्रयोग गरिन्छ ।

चिसो मौसममा चिच्चरको प्वाका शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ । यसले शरीरलाई न्यानो बनाउँछ । तर धेरै खाएर तुरुन्तै धेरै पानी पिउँदा शरीर अत्यधिक तातेर ज्वरो आउन सक्छ । यस्तो ज्वरोलाई थारु भाषामा पोक्जर भनिन्छ ।

हजुरबा–हजुरआमाका पालामा न्यानो कपडाको अभाव भएकाले पुस १५ देखि माघ १५ सम्म प्रायः हरेक दिन चिच्चरको प्वाका खाने गरिन्थ्यो । चिच्चर माछा, मासु वा विभिन्न तरकारीसँग खान सकिन्छ । लट्टे र चिच्चर उस्तै देखिए पनि लट्टेमा घ्यू हालिन्छ भने चिच्चर पूर्ण रूपमा प्राकृतिक हुन्छ ।

पहिचान, इतिहास र भविष्यको सेतु

खिचरा पर्व थारु समुदायको इतिहास, संघर्ष, श्रम, प्रकृति र सामूहिक चेतनासँग जोडिएको पर्व हो । आधुनिकता र समयको परिवर्तनसँगै परम्परामा केही बदलाव आएपनि खिचराले आज पनि थारु समुदायको पहिचान जोगाइराखेको छ ।
खिचरा पर्वले भन्छ—संस्कृति केवल मनाउने कुरा होइन, बाँच्ने तरिका हो । यही कारण खिचरा आज पनि थारु समुदायको आत्मा, इतिहास र भविष्यलाई जोड्ने सेतु बनेर जीवित छ ।

सेयर गर्नुहोस्